चीनका राष्ट्रपतिसँग उत्साहका साथ धेरै विषयमा खुल्ला र स्पष्ट छलफल भयो : प्रधानमन्त्री दाहाल
बेइजिङ्, चीन, चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग आज बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा भेटवार्ता गर्नुभयो । प्रधानमन्त्रीले भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा चिनियाँ राष्ट्रपति आफैँ नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा सकारात्मक उत्साह र चासोका साथ प्रस्तुत हुनुभएको प्रधानमन्त्रीलाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ । यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीले बताउनु भएको छ । छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेइजिङ्मा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको जानकारी गराउनुभयो ।
प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै नेपालको श्रम बजार र लगानीको अवसरबाट लाभ चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल प्राकृतिक सुन्दरता, धार्मिक विविधता र अध्यात्मिक क्षेत्रमा धनी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस क्षेत्रलाई प्राथमिकता दिएर पर्यटन प्रवद्र्धनका लागि चिनियाँसँग सहकार्य गरी अगाडि बढ्न सकिने बताउनुभयो ।
भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै उहाँले अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको छ भन्नुभयो ।
नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी९एफडिआई० गर्ने मुख्य मुलुक चीन भएको बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाइएकोमध्ये चिनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।
चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक बनेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले विश्व अर्थतन्त्रको आकार र गतिमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो ।
प्राचीनकालदेखि नेपाल र चीनबीचको हिमालय क्षेत्रमा हुने गरेको वस्तु आयात निर्यातबाट विस्तार भएको दुई देशबीचको व्यापार पछिल्लो समयमा उल्लेखनीय रुपमा विस्तार हुँदै गएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।





0 comments
Write Down Your Responses