नेपालमा ६० प्रतिशत नर्सलाई निरन्तर पेशागत सीप विकास तालिमबारे जानकारी नरहेको भर्खरै एक अध्ययनले देखाएको थियो । नेपाल नर्सिङ काउन्सिल, बेलायतस्थित लिभरपुल जोन मोरेस युनिभर्सिटी र बर्नमाउथ युनिभर्सिटीले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो आँकडा देखाएको हो । अध्ययनमा डा. विभा सिम्खडा, डा. पदम सिम्खडा, डा. सियन मास्के, रोज खत्री, चन्द्रकला शर्मा र डा. सुजन मरहट्ठाको टोली संलग्न थियो । उक्त टोलीको नेतृत्व गरिरहेकी जोन मोरेस युनिभर्सिटीकी प्रोफेसर नर्स डा. विभा सिम्खडासँग अध्ययनको उद्देश्य र उपयोगिताबारे गरेको कुराकानीः
नर्सहरुले सिपिडी शब्दकै अर्थ नबुझेका हुन् कि भन्ने कुरा उठेको छ । सिपिडीबारे बुझाइदिनोस् न ?
कन्टिन्यु प्रोफेसनल डेभलपमेन्टको छोकटरी रुप हो सिपिडी । सिपिडी भन्नाले पेशागत सीप विकासका लागि निरन्तर तालिम वा ज्ञान हासिल गर्नु भन्ने बुझिन्छ । नेपालमा कन्टिन्यु मेडिकल एजुकेसन (सिएमई) पनि गरिन्छ । तर, यो ठ्याक्कै सिपिडी भने होइन । आफूले दिइरहेको सेवाको गुणस्तरका लागि निरन्तर विशेष प्रकारका तालिम लिन जरुरी छ । यसैलाई सिपिडी भनिन्छ । सिपिडी एकचोटि लिएर पुग्दैन, निरन्तर लिइरहने र अद्यावधि समेत गरिरहनुपर्ने हुन्छ । नर्सिङ शिक्षाले आधारभूत ज्ञान मात्रै दिने भएकाले काममा लाग्नेबित्तिकै वा कामको सिलसिलामा विशेष सीप हासिल गरिरहनुपर्छ । सिपिडी लिनुको अर्थ समयानुसार आफूलाई दक्ष बनाउँदै जानु हो । मैले अघिल्लो वर्ष नेपालकै नर्सिङको एउटा पाठ्यक्रम मूल्यांकन गर्दा २० वर्षअघिका विषय पाएँ । यसरी त हुँदैन । सिपिडी पनि निरन्तर परिवर्तन हुन जरुरी छ । त्यसैले एकपल्ट लिएको तालिम अर्थात् सिपिडी वर्षाैंसम्म काम लाग्दैन ।
नेपालमा सिपिडीको अवधारणा नै भित्रिएको छैन, हो ?
हामीले सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत पाँच सय जना नर्सलाई सिपिडीबारे सोधेका थियौँ । हामीले यसको अर्थ पनि बुझाएका थियौँ । अस्पताल सेवा दिइरहेका ५० प्रतिशत नर्सले पेशागत विकासका कुनै पनि तालिम नलिएको बताए । यसको अर्थ उनीहरुले नर्सिङ शिक्षा ग्रहण गरेकै भरमा सेवा दिइरहेका छन् । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा काम गर्नेलाई सिपिडी नहुनु गम्भीर कुरा हो ।
पेशागत विकासका तालिम किन नलिएका वा नपाएका रहेछन् ?
पेशागत विकासको तालिम लिएकामध्ये धेरैले दक्ष प्रसूतिकर्मी तालिम (एसबिए) मात्र पाएको भेटियो । जुन तालिमले नेपालमा जागिर पाउन सघाउने रहेछ । अध्ययनमा सहभागीहरुले वाध्यात्मक अवस्था नहुँदा, काम गरेको ठाउँबाट तालिम लिनका लागि छुट्टी नपाउँदा र तालिममा जाने खर्च नहुँदा तालिम नलिएको गुनासो गरेका थिए । अस्पताल अनुसार सेवाको गुणस्तर फरक छ । त्यसैले कस्तो हुने, कुन स्तरको हुने, कुन विभाग वा वार्डमा काम गर्ने नर्सले के जानेको हुनुपर्ने ? जस्ता मापदण्ड छैनन् । गुणस्तरीय सेवा दिइएको छ वा छैन भनेर नियमन गर्ने प्रणाली चुस्त छैन । त्यसैले काम दिनेले यस्ता तालिम दिलाउनै पर्ने र गर्नेले लिनै पर्ने वाध्यता छैन ।
तपाईं रजिस्ट्रर्ड नर्सका रुपमा बेलायतमा काम गरिरहनु भएको छ । त्यहाँ चलन कस्तो छ ?
बेलायतमा नर्सिङ पास गरेर भर्खरै सेवामा आइपुगेकी नर्सलाई जागिर दिने संस्थाले विशेष तालिम दिन्छ । जसलाई ‘इन्डक्सन प्याकेज’ भनिन्छ । आधारभूत कुराहरु त्यो तालिम अन्तर्गत पर्छन् । यसमा ड्रग क्याल्कुलेसनदेखि क्यानुला लगाउने तरिकासम्म सिकाइन्छ । नेपालमा कतिपय अस्पतालले सुरु गरेको बताएका छन् । तर, धेरैले सोझै काममा लगाउँछन् । यूकेमा चाहिँ सबै अस्पतालले नर्सलाई यो तालिम दिएकै हुनुपर्छ । गरे÷नगरेको त्यहाँको नर्सिङ मिडवाइफ्री काउन्सिलले जाँचबुझ गर्छ । नगरेको पाए कारबाही हुन्छ ।
कसले दिन्छ तालिम ?
हरेक वार्ड वा विभागले सिपिडीलाई अनिवार्य प्याकेजमा राखेका हुन्छन् । आफ्ना स्टाफलाई यस्ता तालिम गराउन वा त्यसका लागि पठाउन एउटा कोष निर्माण गरिएको हुन्छ । उक्त वार्डले सेवाका लागि आवश्यकता अनुसार तालिम नपाएका स्टाफलाई तालिम दिलाउने र पाएकालाई अद्यावधिक गर्न लगाउने गर्छ ।
सिपिडी लिइरहेको र नर्सिङ सेवामा गुणस्तर पुगे÷नपुगेको कसले हेर्ने ?
विदेशमा चाहिँ क्रस चेक हुन्छ । एउटा अस्पतालका नर्सले अर्काे अस्पताल र नर्सको क्रस चेक गर्छन् । यसैगरी, त्यहाँको नर्सिङ काउन्सिलले पनि छड्के जाँच गरिरहेको हुन्छ । काउन्सिलले नर्सको लाइसेन्स नवीकरण गर्नका लागि यस्ता तालिम अनिवार्य शर्त बनाएको छ । जसरी पनि आफूलाई दक्ष बनाउनै पर्छ र सिपिडी लिन जरुरी हुन्छ ।
यो अध्ययन कसरी सुरु भयो ? नेपालमा यसबारे अध्ययन गर्नुको उद्देश्य ?
म नेपालमा जन्मेर हुर्कें । अहिले बेलायतमा काम गरिरहेकी छु । मैले यहाँको सेवा देखे–भोगेको र त्यहाँ सेवा दिइरहेकाले फरक महसुस भइरहन्छ । त्यहाँ जत्तिकै नभए पनि यहाँको नर्सिङ सेवाको गुणस्तर उकास्न केही गर्न सकिन्छ कि ? भन्ने प्रश्न मनमा खेलिरहन्थ्यो । नेपालमा मनमोहन मेमोरियल अस्पतालसँग कुरा गरेँ । म काम गरिरहेको युनिभर्सिटीसँग कुरा गरेँ । मनमोहन अस्पतालले सघाउने कुरा ग¥यो । उता पनि विकासोन्मुख देशका लागि केही सहयोग गर्न सकिन्छ भने किन नगर्ने भनेर सकारात्मक कुरा आयो । त्यसपछि अध्ययन सुरु गरियो ।
बाहिर जस्तो छ, यहाँ पनि त्यस्तै गरौँ वा गर भन्न सोझै मिल्दैनथ्यो । हामीलाई त्यसका लागि तथ्यांक चाहिएको थियो । यहाँ कसरी काम भइरहेको छ यथार्थ जान्नु थियो । सेवा प्रदायक नर्सले के चाहन्छन्, थाहा पाउनु थियो । उनीहरुलाई चाहिएको ज्ञान सीप कसैले दिइरहेको छ कि छैन भनेर जान्नु थियो । त्यसैले अध्ययन गरियो ।
सिपिडी जरुरी छ भन्ने कुरा अध्ययनले देखायो । अब यसलाई कसरी व्यवहारमा ल्याउने ?
हाम्रो पहिलो चरणको अध्ययनले नेपालका नर्सलाई सिपिडी जरुरी छ भन्ने देखियो । तर, अब कसरी त्यो आवश्यकता पूरा गर्ने भन्ने चुनौती छ । यसका लागि हामीले अध्ययन थालिसक्यौँ । बेलायतमा लिभरपुल जोनमोर र बर्नमाउथ युनभर्सिटी दुवै नर्सिङमा नेतृत्वदायी युनिभर्सिटी मानिन्छन् । त्यसैले यी युनिभर्सिटीसँग सहकार्य गरेर नेपालमा केही गर्न सकिन्छ कि भनेर नै यो अध्ययन थालिएको हो ।
विशेष गरी सीप विकासका लागि हामी प्राविधिक रुपमा सघाउँछौँ । हामीले जानेको ज्ञान, सीप यहाँका नर्सलाई बाँड्न एकखालको फोरम बनाउँछौँ । त्यही फोरम मार्फत आफूले गर्न सकेजति म मातृभूमिका लागि गर्छु ।
नेपालको नर्सिङ सेवा गुणस्तरीय बनाउन के गर्नु पर्ला ?
हामी अध्येता हौँ । हामीले यस्तै गर्नुपर्छ भनेर कसैलाई भन्न मिल्दैन । सरोकारवालाहरुसँग राय संकलन गरी अध्ययनको नतिजा मूल्यांकन गरेर हामीले सम्बद्ध निकायलाई सुझाव दिने हो । नर्सिङ सेवालाई कसरी गुणस्तरीय बनाउने भन्ने कुरा त सरकार, नर्सिङ काउन्सिल, सम्बद्ध अस्पतालहरुले सोच्ने र कार्यान्वयन गराउने कुरा हो । तर, हामी नर्सिङ सेवाबारे अध्ययनहरु गरिरहन्छौँ र अध्ययनले देखाएको नतिजा अनुसार गुणस्तर बृद्धिका लागि दबाब भने दिइरहन्छौँ ।
गुणस्तरीय नर्सिङ सेवाका लागि निरन्तर पेशागत सीप विकास तालिम चाहिन्छ




0 comments
Write Down Your Responses