काठमाडौँ, चैत्र । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट दिनेसम्बन्धी विषयमा छलफल भइरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिवालयका अनुसार बैठकमा आज केन्द्रीय सदस्यहरुले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा आफ्ना धारणा राखिरहेका छन् ।
नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा नेतृत्व गर्ने उम्मेदवारलाई केन्द्रबाट तथा वडा र गाउँपालिकामा भने जिल्लामा संयन्त्र बनाएर टिकट दिनुपर्ने धारणा राखेको केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
आइतबारबाट सुरु केन्द्रीय समिति बैठकमा स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल जारी छ ।
यसअघि बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ ।
त्यस्तै केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठित समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पार्टीको वरिष्ठताका आधारमा थप २५ केन्द्रीय सदस्य गरी जम्मा २९ सदस्यीय समिति गठन गरेको थियो ।
सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा आज केन्द्रीय सदस्यहरुले आ आफ्ना धारणा राखेका छन् ।
काँग्रेस बैठकमा टिकट वितरणसम्बन्धी छलफल





0 comments
Write Down Your Responses