संसारका मानिसहरू नेपालमा प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न आउँछन् । लुम्बिनी र पशुपति आउने अधिकांश पर्यटक धार्मिक उद्देश्य राखेर पनि आउने गरेको पाइन्छ । चीन, कोरिया, म्यानमार (बर्मा), श्रीलङ्काजस्ता मुलुकका बौद्ध धर्माबलम्वीहरूले जीवनकालभरिमा कम्तीमा एकपटक बुद्धको जन्मभूमि लुम्बिनी भ्रमण गर्ने अभिलाषा राखेको पाइन्छ भने पशुपति आउने धेरै पर्यटकहरू नेपालबाहेक भारत, मलेसिया, मौरिसस, इन्डोनेसिया, भुटानलगायतका हिन्दू बौद्धका पाइएको छ ।
नेपाल आउने सार्क र तेस्रो मुलुकका पर्यटकहरूमध्ये कतिपय हाम्रो जीवन्त संस्कृति हेर्न, बुझ्न र सिक्न पनि आएको पाइन्छ । हिन्दू परम्परा अनुसार गरिने दाहसंस्कारको विधि÷प्रक्रिया हेर्न पनि तेस्रो मुलुकका अधिकांश पर्यटक श्रीपशुपति क्षेत्रको घाट क्षेत्रमा रम्ने गरेको पाइन्छ ।
आध्यात्मिक आस्था र भावनाको सङ्गम, अतुलनीय मानव निर्मित कलाकृतिहरूको सङ्ग्रह, पुराताìिवक एवं सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण प्रकृतिको सुन्दरतम संरचना बोकेको पशुपतिनाथ क्षेत्र खुला सङ्ग्रहालय पनि हो । त्यति मात्र होइन संस्कृतिको पर्याय रहेको पावन पशुपति क्षेत्रमा जात्रा–पर्वहरूको जीवन्तता भेटिन्छ । पशुपतिनाथको मन्दिर त संसारमा प्रख्यात छ नै, यसका अतिरिक्त यस क्षेत्रमा साना ठूला गरी करिब ५०० मठमन्दिर एवं स्मारकहरू छन् । तिनको समेत आ–आफ्नै विशेषता रहेको पाइन्छ । पशुपतिनाथको मन्दिर परिसरभित्र दक्षिणतर्फ उन्मत्त भैरव, दक्षिणपूर्वतर्फ (आग्नेय कोणमा) कीर्तिमुख भैरवको मन्दिर छन् । पशुपतिनाथका गणहरूमध्ये भैरवलाई मानिन्छ । सूर्यनारायणको मन्दिर, श्रीकृष्णको मन्दिर, पशुपतिनाथ मन्दिरको पूर्वपट्टि रहेको मुक्ति मण्डपमा सन्तापहरेश्वरको शिवलिङ्ग स्थापित छ । महादेवले पहिरिने गहनाका रूपमा रहेको वासुकी नागको मन्दिर प्राङ्गणको उत्तर पूर्व (इशान) कुनामा रहेको छ । मन्दिर प्राङ्गणभित्र नै नवग्रह, बूढानीलकण्ठ र हनुमानको पूजाआजा एवं दर्शन गर्न सकिन्छ ।
६४ का नामले चिनिने ५२५ शिवलिङ्गको केन्द्र भागमा कोटिलिङ्गेश्वरको मन्दिर रहेको छ । पशुपतिनाथको प्राङ्गणभित्र नै लगभग दुर्लभ मानिएको ब्रह्माको मन्दिर छ । नृत्यनाथका नामले चिनिने त्यो मन्दिरभित्र रहेको ब्रह्माको मूर्ति धेरै पहिल्यै चोरी भएका कारण हाल शिवलिङ्ग मात्र देख्न सकिन्छ । कलात्मक एवं कँुदिएका ढुङ्गाले बनेको यो सानो चिटिक्क परेको मन्दिर मूल मन्दिरको उत्तर पश्चिम (वायव्य कोणमा) कुनामा छ । आँखाले देख्न सकिने यी र यस्ता देवदेवीहरूका बारेमा त धेरैलाई थाहा हुनसक्छ तर धेरैले ख्याल नगरेको विषय तिनीहरूको प्रामाणिकताका बारेमा हो । मन्दिर प्राङ्गणभित्र कतिपय लिच्छविकालीन शिलालेखहरूअहिले पनि सुरक्षित छन् । पश्चिम ढोकाबाट प्रवेश गर्ने बित्तिकै दक्षिणतर्फको कुनामा लस्करै ढुङ्गामा खोपेका शिलालेखहरू देख्न सकिन्छ तर ती सबैजसो शाहकालीन हुन् । कुनै बेला ती शिलालेखहरू कसैले ठाडो गरी मिलाएर राखेको हुनुपर्दछ । तिनीहरू भन्दा अलि भिन्न खालको माथिल्लो भागमा त्रिकोणात्मक परेको पञ्चभुजाकारमा एउटा शिलालेख छ जुन लिच्छविकालीन राजा मानदेव द्वितीयको हो । त्यसमा लेखिएका अक्षरहरू बुझ्न र पढ्न लिपिविज्ञले खुट्याइदिनु पर्दछ ।
वासुकी मन्दिरको उत्तरतर्फको पर्खालमुनि थिचिएर राखिएको अवस्थामा समेत लिच्छविकालीन अभिलेख÷लिपि कुँदिएका दुईवटा ढुङ्गाका पिलर पाइएको छ । श्रीस्वस्थानीमाताको व्रत समाप्त हुने पूर्णिमाका दिन वर्षमा एकपटक मात्र छायाँ दर्शन गर्न पाइने मन्दिरको दक्षिणढोका बाहिर तलपट्टि रहेको धर्मशिलाका नामले चिनिने वर्गाकार तामाको पाताभन्दा पूर्वपट्टि छाता ओढेको जस्तो देखिने ढुङ्गाकै प्लेटफर्म माथि उभिएको करिब तीन फिट अग्लो एउटा निकै महŒवपूर्ण मूर्ति छ यो नकुलिस (कसैकसैले छत्रचण्डेश्वर पनि भन्छन्) को मूर्ति हो । यसको बेस स्टोन (आधार ढुङ्गा) मा समेत लिपिहरू कुँदिएको पाइन्छ ।
पशुपतिनाथमा हरेक पूर्णिमामा भोगसहितको महास्नान गराउने गुठी रहेको महास्थान घरको पूर्वतर्फ हरिहर अर्थात् लक्ष्मीनारायणको कलात्मक एवं छरिता मूर्तिहरू थिए तर त्यो सुन्दर मूर्ति चोरी भएका कारण अहिले त्यहाँ देख्न पाइन्न ।
पावन पशुपति क्षेत्रमा लगभग धेरै ठाउँमा उमामहेश्वरका स–साना चिटिक्क परेका मूर्तिहरू देख्न सकिन्छ । शिवलिङ्गहरू पनि थरिथरिका देख्न सकिन्छ । हुन त महादेवको रूद्र स्वरूप आफैँमा पूर्ण छ नारी र पुरुष दुवैको रूपमा । त्यसैले कतै–कतै महादेवलाई अर्धनारीश्वरका रूपमा देख्न सकिन्छ । तथापि अर्धाङ्गिनीका रूपमा व्याख्या गरिने माता वत्सलेश्वरीको मन्दिर र यस मन्दिरसँग जोडिएको यस क्षेत्रकै महìवपूर्ण जात्रा निकै लामो जात्रामध्येको एक हो । माता वत्सलेश्वरी र नक्साल भगवती दिदी बहिनी रहेको मान्यताका आधारमा यो जात्रासँग नक्साल भगवतीको समेत सम्बन्ध रहेको पाइन्छ । यो जात्रा घोडेजात्राको भोलिपल्टसम्म चल्छ । यो जात्राका अतिरिक्त त्रिशूल जात्रा, खटजात्रालगायत साना ठूला गरी एक दर्जनभन्दा बढी जीवन्त संस्कृति बोकेका स्थानीय जात्राहरूले अलग्गै विशेषता बोकेको पाइन्छ ।
यस क्षेत्रमा रहेका गुह्येश्वरीमाताको मन्दिर, जयबागेश्वरी मन्दिर र वत्सलेश्वरी माताको मन्दिरले प्रकृति अर्थात् शक्ति पीठको प्रतिनिधित्व गरेका छन् । दक्षिणामूर्ति, भुवनेश्वरी, वनकाली माता, पिङ्गलास्थानमा रहेको पिङ्गला माईलगायत साना ठूला मन्दिर तथा देवालय÷शिवालयहरू यस क्षेत्रमा छन् । चावहिल गणेशस्थानका नामले चिनिने चन्द्रविनायकको नामबाट चावहिल नाम रहन गएको भन्ने विश्वास गरिन्छ । विश्वसम्पदा सूचीमा समाविष्ट पशुपति क्षेत्रभित्रै पर्दछ यो । कोटुबही, धन्दोचैत्य, चारुमति, चावहिल स्तूपासमेत रहेको यो क्षेत्र परापूर्वकालमा शैव र बौद्ध सम्प्रदायको सम्मिश्रण रहेको स्थल हो भन्न सकिन्छ । अर्थात् शिवकै स्वरूप बुद्धलाई मानेर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको मिश्रित बसोबास रहेको यस क्षेत्रमा त्यस बेलादेखि नै धार्मिक सद्भाव कायम थियो र अहिले पनि छ । बरु हिन्दू र बौद्धबाहेक मुश्लिहरूबाट चाहिँ पशुपति क्षेत्रका महìवपूर्ण मूर्तिहरू यताउता छितरवितर गरेको इतिहास पाइन्छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीसमेत पशुपतिनाथको मन्दिरभित्र रहेको असली शिवलिङ्ग त्यतिबेला बाहिर पु¥याइएको थियो जुन अहिले भुतेश्वर मन्दिरमा राखिएको छ भन्नुहुन्छ । बागमती नदी किनारको राजराजेश्वरीघाट क्षेत्रमा बुद्धसँग सम्बन्धित विभिन्न मूर्तिहरू मात्र होइन जयबागेश्वरी मन्दिर नजिकै नवालीटोलस्थित लुँहिटीमा संसारमै विरलै पाइने मायादेवीको मूर्ति (चोरी भएपछि हाल यो मूर्ति राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ) पाइनुले पनि यस क्षेत्रको प्राचीन महìव थप पुष्टि हुन्छ ।
यस क्षेत्रको चर्चा गर्दा मृगस्थली, किराँतेश्वर, गोरखानाथ तथा विश्वरूपका बारेमा उल्लेख गरिएन भने अपूरो हुन्छ । किराँत धर्मावलम्बीहरूको समेत धार्मिक आस्थाको केन्द्र किराँतेश्वर क्षेत्र रहनु, गोरख सम्प्रदायको केन्द्र गोरखनाथ क्षेत्र हुनुले मात्र होइन आगमघर नजिकै रहेको जैन धर्मका धर्म गुरु महावीर जैनको सातौँ अवतारका तीर्थङ्कर चन्द्रप्रभुको मूर्ति पाइनु र राजराजेश्वरी क्षेत्रमा शिख सम्प्रदायका गुरु ग्रन्थ साहेवको मन्दिरसमेत रहनुले धार्मिक–सम्प्रदायिक सद्भाव एवं भाइचारालाई थप पुष्टि गर्दछ । त्यो समयदेखि नै धार्मिक एकता, सद्भाव मात्र होइन पावन पशुपति क्षेत्र सनातनको केन्द्र भनी थप प्रस्ट हुन्छ ।
गोरखनाथ क्षेत्रमा रहेको भगवान् विष्णुको विराट स्वरूप देख्न सकिने विश्वरूप मन्दिर हाल भग्न अवस्थामा रहेको छ । २०७२ सालको विनाशकारी भूकम्पका १२ र २९ गतेका दुवै ठूला झोक्काबाट क्षति पुग्दा पनि भत्किन हालेको करिब २०० फिट वर्गाकार परिधि रहेको जमिनदेखि गजुरको टुप्पोसम्म झण्डै १०० फिट अग्लो उक्त मन्दिर २०७२ भदौ ४ गते शुक्रबार एक्कासी भत्किएर गल्र्यामगुर्लुम ढल्यो । संयोग हो वा अरू केही सोही दिन बिहान करिब साढे तीन बजेतिर गोरखनाथ क्षेत्रमा बस्दै आउनुभएका डा. स्वामी प्रपन्नाचार्यको देहान्त भएको थियो ।
देवादीदेव श्रीमहादेवको एउटा रूप ‘शिव’ अर्थात् शान्त स्वभावको प्रतिबिम्ब र अर्को ‘रुद्र’ स्वरूप अर्थात् स्थिर एवं कठोर स्वाभावको द्योतक । आध्यात्मिक यात्रीहरूका लागि रुद्र स्वरूप महादेव विराजित पशुपति क्षेत्र सर्वत्र ऊर्जाशील, पवित्रभूमि, योग साधनाका हिसाबले ‘उत्तम गन्तव्य’ हो । पशुपति क्षेत्रलाई जुनसुकै धर्म सम्प्रदायका व्यक्तिहरूका लागि खुला रूपमा आह्वान गरी मानव हुनुको बोध गराउन सकिन्छ । हिन्दू कुल परम्पराभित्र जन्मिने त्यसमा पनि नेपाल भूमिभित्र जन्मिनेलाई बरु त्यति चासो रहेको पाइन्न तर अन्यत्रै जन्मिएर आध्यात्मिक रसपान गरिसकेका गैरहिन्दूहरू ‘परम सत्य–महारुद्र’ स्वरूपलाई स्पर्श गर्न लालायित रहेको प्रशस्तै भेटिन्छन् । ‘महारुद्र स्वरूप श्रीपशुपतिनाथ’ त सबैका साझा छन् अनि त्यहाँ धर्मका नाममा विभेद किन ? पवित्रस्थलका रूपमा आध्यात्मिक केन्द्र किन बनाउन नखोज्ने श्रीपशुपतिनाथको पवित्र भूमिलाई ?
उत्तम गन्तव्य पशुपति क्षेत्र




0 comments
Write Down Your Responses