डडेल्धुरा–काठमाण्डौँ रुटमा क्यान्टिन र शौचालयसहितका बसहरु सुचारू
डडेल्धुरा, चैत सार्वजनिक यातायात क्षेत्रबाट डडेल्धुरा–काठमाण्डौँ रुटमा अत्याधुनिक सेवासुविधा सहितका बसहरु चल्न थालेका छन् ।

ठिक एक दशक पहिले डडेल्धुरामा स्थापना भएको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समिति डडेल्धुराले सार्वजनिक यातायातको सेवालाई गुणस्तरीय बनाउन मुलुकमै पहिलो पटक सार्वजनिक यातायातको क्षेत्रमा एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो ।
आज एक औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ट उपाध्यक्ष विजय बहादुर स्वाँरले डडेल्धुरा–काठमाण्डौँ रुटका लागि डडेल्धुराको बागबजार बसपार्कमा रिवन काटेपछि मिनि क्यान्टिन, शौचालय लगायतका सुविधाहरु जडित बस सेवा सुरु भएको हो । रिवन काटेसँगै आज नै एउटा बस काठमाण्डौँका लागि छुटेको छ ।
नेपालमा पर्यटक लक्षित यस्ता सुविधासहितका बसहरु पहिले नै सञ्चालनमा आईसकेको भएपनि सार्वजनिक यातायात क्षेत्रमा भने उग्रतारा यातायात व्यवसायी समितिले पहिलो पटक बसहरु सञ्चालनमा ल्याएको समितिका अध्यक्ष सन्तोष कुमार खड्काले दावी गरेका छन् । औपचारिक कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ट उपाध्यक्ष स्वाँरले पनि यो दाबीलाई समर्थन गरेका छन् ।
उद्घाटन कार्यक्रममा अध्यक्ष खड्काले नेपालमा ट्वाईलेट सहितको बसहरु सञ्चालनमा आएको भएपनि ती बसहरु पर्यटकहरुका लागि मात्र नीजी क्षेत्रबाट सञ्चालनमा आएको बताउँदै नेपाल सरकारले तोकेको भाडा दर अनुसार पहिलो पटक उग्रतारा सार्वजनिक यातायतले बस सञ्चालनमा ल्याएको दाबी गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ट उपाध्यक्ष स्वाँरले नागरिकले सोचे र चाहेको जस्तो सेवा यातायात व्यवासायीहरुले दिनु पर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ यातायातलाई उत्कृष्ट र मर्यादित सेवाको रुपमा विकास गर्नमा महासंघ लागि रहेको बताउदै उनले विश्वका उत्कृट प्रविधीहरुलाई नेपालमा भित्र्याउने कार्य अहिले महासंघले गरिरहेको बताएका छन् ।
‘गाडी मात्र राम्रो भएर हुदैन्, हामी व्यवसायीहरुले दिने सेवा, हामीले गर्ने व्यवहार राम्रो हुनु पर्छ ।’ उनले भने ।
त्यस्तै उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्ने सबै जसो व्यक्तिहरुले अत्याधुनिक सुविधासहितका बसहरु बिस्तार गरेकोमा बधाई दिँदै यसले यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै डडेल्धुरामा बस पार्क निर्माणमा पनि ध्यान दिन सम्बन्धित निकायहरुलाई अग्रह समेत गरेका छन् । अहिले डडेल्धुरामा सवारीसाधनहरुको संख्या बढ्दै गएको भएपनि व्यवस्थित र ठूलो बसपार्क नहुँदा समस्या भोग्नु परिरहेको छ ।
डडेल्धुरा जिल्लामा प्रधान कार्यालय स्थापना गरि २०६३ बाट सेवासुरु गरेको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिले २०७१ सालमा डडेल्धुरा–काठमाण्डौ घटाल डिलक्स बस सेवा सुरु गरेको थियो भने आजदेखी घटाल एयर सस्पेन्सन एसी बस सेवा संचालनमा ल्याएको हो ।
पहिलो पटकका लागि ६ वटा बसबाट सेवा सुरु गरिएको र भविष्यमा बसहरु अझैँ थप गर्ने योजना रहेको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।
नेपालमै पहिलो पटक सञ्चालनमा ल्याईएको उक्त सार्वजनिक यातायात सेवा अन्तरगतका बसहरुमा मीनी क्यान्टिन, ट्वाईलेट, वाईफाई, एलईडी टीभी, म्युजिक, रेडिङ्गलाईट, कम्फरटेबल सिट सेवाहरु उपलब्ध छन् । दैनिक डडेल्धुरा–काठमाण्डौँ रुटमा चल्ने उक्त बसहरु डडेल्धुराबाट काठमाण्डौँका लागि १२ बजेर ५ मिनेटमा छुट्नेछ भने काठमाण्डौँबाट डडेल्धुराका लागि २ बजेर ५ मिनेटमा छुट्ने जनाईएको छ । भाडादर नेपाल सरकारले ताके बमोजिम दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस अघि पहाडि जिल्लाबाट पहिलो पटक एसी बसको रुपमा घटाल सुपर डिलक्स सोही रुटमा सञ्चालन गरेको यातायात समितिले ती बसहरुलाई अन्य रुटमा पठाएर त्यसको ठाउँमा घटाल एयर सस्पेन्सन एसी बस ल्याएको यातायात समितिका अध्यक्ष खड्काले बताएका छन् । अत्याधुनिक सुविधासहितको एउटा बसको लागत एक करोड रहेको बताईएको छ ।




0 comments
Write Down Your Responses