बुटवल– गुल्मी जिल्ला भार्सेकी झनीमाया दर्लामीले लुम्बिनी अञ्चल अस्पतालको डट्स क्लिनिकमा आवासीय रुपमै उपचार गर्न थालेको करिब दुई महिना भयो । उनले गुल्मी, तमघास र बुटवलका विभिन्न ठाउँ र उपचार गराए पनि रोग निको हुनुभन्दा झनै बल्झियो, रोगले झनै गलाउँदै लग्यो । अन्तमा बुटवल अञ्चल अस्पतालमा रहेको क्षयरोग क्लिनिकमा पुगेर जाँच गराउँदा उनलाई जटिल खालको एमडिआर क्षयरोग देखा पर्यो ।
रोग पत्ता लागेपछि उनलाई चिकित्सकले २४ महिना क्षयरोगको उपचार गर्नुपर्ने सल्लाह दिएपछि उनले बुटवल डट्स आवास गृहमा चिकित्सकको निगरानीमा बसेर नियमित औषधि सेवन गर्दै आएकी छिन्।
दर्लामीले निक्कै चिन्तित भएर लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलसँग जिज्ञासा राखिन् ‘शाक्तिशाली औषधिले समेत काम नगर्ने एमडिआर टिबी रोग के साँच्चिनै निको हुन्छ त?’ जवाफमा डा पौडेलले भने, ‘नियमित र चिकित्सकको निगरानीमा नियमित औषधि सेवन र जाँच गरेमा केही लामो समय लागे पनि रोग निको हुन्छ ।’
बुटवलको डट्स क्लिनिकमा आर्घाखाँचीबाट उपचारार्थ आएर आवासीय रुपमै उपचार गराएका दिवाकर नेपाली यस्तै खालको जटिल क्षयरोग एक्सडिआर टिबीको उपचार गरेर निको भए। उनी २० महिना नियमित औषधि सेवन र नियमित जाँच गराएर अहिले पूर्ण रुपले निको भएर घर फर्कने तयारीमा छन् । नेपालीले भने, ‘सरकारले उपलब्ध गराएको सेवाले म जस्ता धेरै बिरामीलाई सुविधा भएको छ तर जिल्लामा पनि यो सेवा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।’
बुटवलमा जटिल क्षयरोगीलाई नियमित औषधि सेवन र चिकित्सकीय सेवा प्रदान गर्न पाँच वर्षदेखि डट्स आवासगृहको व्यवस्था गरिएको छ । आवासगृहमा अहिले पनि यस्तै लामो समय औषधि सेवन गर्नुपर्ने र जटिल खालका क्षयरोगी बस्दै आएको लुम्बिनी अञ्चल अस्पताल, बुटवल क्षयरोग क्लिनिकका प्रमुख सत्यराज शाक्यले जानकारी दिए। उनीहरुलाई सरकारले खान बस्नसहित मासिक रु दुई हजार ५०० समेत उपलब्ध गराउँदै आएको छ ।
यस्तै एक वर्षमा जिल्लामा एक हजार तीन सय ८६ क्षयरोगी पत्ता लागेका छन् । तीमध्ये जटिल खालका डिआर टिबीका बिरामी ४२ जना अर्थात् ११ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले जानकारी दिए।
यस्तै क्षयरोगको उपचारलाई सर्वसुलभ बनाउन चालु आवमा ८० उपचार र २२ रोग निदान केन्द्र, २० सहरी उपचार केन्द्र तथा उपकेन्द्र, दुई डिआर टिबी उपचार केन्द्र एक एक डिआर टिबी निदान केन्द्र, जिन एक्सपोर्ट केन्द्र र डिआर टिबी आवास गृह छन् ।
उनका अनुसार जिल्लामा रोग निदानका लागि निःशुल्क खकार, कल्चर तथा जेन एक्सपर्ट जाँच, डट्स सेन्टरबाट औषधि, आवास र पुनःउपचार तथा मासिक पोषण खर्चको व्यवस्था गरिएको छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलले सरकारले क्षयरोग न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर जनतालाई सेवा उपलब्ध गराएको बताउँदै यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत हुन जरुरी रहेकामा जोड दिए। रोगसँग लड्न बेलैमा रोगको निदान र नियमित औषधि सेवन गरेमा अन्यमा सर्ने खतरा निक्कै कम रहेको जनाइएको छ ।





0 comments
Write Down Your Responses