पितृशोकमा पनि बिरामीलाई रगत जुटाउँदै प्रेमसागर
काठमाडौं– नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने प्रेमसागर कर्माचार्य यतिबेला पितृशोकमा छन्। उनका ८४ वर्षीय पिता प्रेमपूर्ण कर्माचार्यको सोमबार निधन भएको हो। उनी अहिले तेह्र दिने काममा बसेका छन्। दुःखको यो घडीमा प्रेमसागरलाई सहानुभूति र समवेदना प्रकट गर्नेहरु बागबजारस्थित घरमा पुगिरहेका छन्। कतिपयले फोनबाटै दुःख व्यक्त गरिरहेका छन्।
यद्यपि, प्रेमसागरको मोबाइलमा दैनिक दर्जनभन्दा बढी बिरामीका आफन्तको फोन आउँछ। प्रेमासागरलाई पितृशोकमा सहानुभूति दिनका लागि नभई अस्पतालमा रहेका बिरामीलाई रगत उपलब्ध गरिदिन अनुरोध गरिएका फोनहरु आएका हुन् ती। प्रेमसागर पनि बिरामी तथा बिरामीका आफन्तलाई आफ्नो दुःख लुकाएरै भए पनि रगतको जोहो गराउनेतिर लाग्छन्। क्रियापुत्री बसिरहेको स्थानबाट उनी स्वयंसेवी रक्तदातालाई फोन लगाउँछन् र बिरामीले भनेको अस्पतालमा रगतको व्यवस्थापन गर्न पठाउँछन्।
उनी बिरामीले थप दुःख नपउन् भनेर शोकमा रहेको बेला नभनी बिरामी तथा बिरामीका आफन्तको फोन उठाएर सहयोग गरिरहेको बताउँछन्। ‘पिताजी त बितेर जानु भयो, तर मैले फोन नउठाउँदा बिरामीको ज्यान तलमाथि नहोस् भनेर सकेसम्म रगतको व्यवस्थापन गर्ने गरेको छु,’ उनी भन्छन्, ‘अस्पतालको शैय्यामा रहेका बिरामीको आफन्तले ठूलो आशा बोकेर मलाई फोन गरिरहेका हुन्छन्। त्यसैले आफ्नो पीडालाई लुकाएर भए पनि बिरामीको दुःखमा साथ दिएको हुँ।’
उनले थपे, ‘मेरो पिताजी अब फर्कनु हुन्न। तर, शैय्यामा सुतेका बिरामीलाई रगत मिलाउँदा उनीहरुको हराएको खुसी पुनः फर्किन्छ। त्यसकारण बिरामीको परिवारमा खुसी फर्काउन मैले शोकको यो घडीमा पनि काम गरेको हुँ।’
सोमबार यता प्रेमसागरले ३० भन्दा बढी बिरामीलाई फोनको माध्यमबाटै रगत व्यवस्थापन गरिदिएका छन्। अरुबेलाझैँ उनलाई अहिले पनि १०–१५ मिनेटको अन्तरालमा राजधानीका विभिन्न अस्पतालमा उपचाररत बिरामीका आफन्तको फोन आउँछ। उनका अनुसार हरेक फोनमा एउटै गुनासो हुन्छ, ‘प्रेमदाई रगत पाइएन के गर्ने होला?’ उनी बिरामीलाई आवश्यक पर्ने रक्तसमूह, रगतको मात्रा लगायतका आवश्यक कुरा सोध्छन् र आफ्नो सञ्जालमा रहेका स्वयंसेवी रक्तदाता मार्फत रगतको व्यवस्थापन गरिदिन्छन्।
प्रेमसागरकाले केही दिनअघि मात्र एक सय ४९औं पटक रक्तदान गरेका थिए। उनले नेपालमै सबैभन्दा बढी रक्तदान गर्ने यसअघिको आफ्नै रेकर्ड तोडेका हुन्। प्रत्येक पल्ट लिइने न्यूनतम रगत ३ सय ५० एमएलको हिसाब निकाल्ने हो भने हालसम्म उनले ५२ लिटरभन्दा बढी रगत दान गरिसके। प्रेमसागरले रक्तदान गर्न थालेको ३७ वर्ष भइसकेको छ। यसबीचमा उनले आपतमा परेका हजारौं बिरामीलाई सहयोग गरिसकेका छन्। बिरामीलाई रगत उपलब्ध गराउन दिनरात नभनी खटिएका उनी जतिबेला पनि आफ्नो मोबाइल उठाउँछन्। मध्यरातमा पनि फोन उठाउने प्रेमसागर कसैलाई अप्ठ्यारो पर्दा जुनसुकै बेला सेवामा हाजिर हुन्छन्।
ब्लड बैंकमा रगत छैन भन्ने प्रतिक्रिया पाएका बिरामीका आफन्तको एक मात्र आशाका केन्द्र हुन् नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष ‘प्रेमसागर’। उनको सञ्जालमा अहिले पाँच हजारभन्दा बढी सदस्य भइसकेका छन् र २२ जिल्लामा शाखा छन्।





0 comments
Write Down Your Responses