चैत्र, - त्रिसट्ठी वर्षे गनिशरा विक बुटवलस्थित साधना महिला विद्यालयकी एक कक्षाकी विद्यार्थी हुन् । छोराछोरी र नाति–नातिनासहित १० जनाकी अभिभावक कहिलेकाहीं घरमै आवाज निकालेर अंक र दुना कण्ठस्थ गर्छिन् । यसो गर्दा छिमेकीले जिस्क्याउँछन् । आसपासका बालबालिकाले गिज्याउँछन् । छिमेकीले अप्ठेरो मान्छन् । गनिशरा भने यसलाई सामान्य रूपमा लिन्छिन् । उनका अनुभवमा आँखा भए पनि पढाइ नभएपछि संसारै अँध्यारो हुँदोरै’छ । त्यसैले जसले जे भने पनि उनी पढ्न छोड्दिनन् । गनिशरालाई सानैदेखि भान्सा सम्हाल्न भन्दै पकाउन सिकाइयो । किशोरी उमेरमा प्रवेश नगर्दै बिहे भयो । अक्षर नचिन्दा उनले जीवनमा धेरैपटक हन्डर र ठक्कर खाइन् । रुपैयाँ नचिन्दा घर–व्यवहार गर्दा र बजार जाँदा धेरैपटक ठगिइन् । तैपनि चुपचाप सहेकी गनिशरालाई पढेर टाठा भएका नाति–नातिनाले मोबाइल र फेसबुक चलाउँदा र देश/विदेशका अनौठा कुरा देखाउंँदा अक्षर सिक्न रहर लाग्यो । बुढेसकालमा कक्षा एकमा भर्ना भइन् । ‘उतिबेला उमेर थियो । समयले साथ दिएन । अहिले उमेरले साथ नदिए पनि समयले साथ दियो । पढ्न थालें ।’ गनिशराले सुनाइन् । एसएलसीसम्म पढ्ने उनको धोको छ ।
कमला र गनिशराजस्तै साधना महिला विद्यालयको कक्षा एकमा २९ जना विद्यार्थी छन् । उनीहरू धेरैजसो हजुरआमा बनेका छन् । केही आमा छन् । त्यस मध्येकी हुन्, ५७ वर्षे कौशिला थापा मगर । ३ नाति–नातिनालाई हुर्काएर मात्रै उनी पढ्न आउन पाएकी हुन् । उमेर बूढो भए पनि मन बूढो नभएकाले पढ्नलाई समस्या नभएको उनले सुनाइन् । हजुरआमा र आमा भएकाले घरपरिवार र छिमेकमा हुने धार्मिक र सांस्कृतिक क्रियाकलापमा भाग लिनैपर्छ । यसैले बेला–बेलामा अनुपस्थित हुनुपर्ने उनीहरूको बाध्यता छ । यस्तो बाध्यताले छुटेको पढाइलाई उनीहरू अतिरिक्त कक्षा लिएर पुरा गर्छन् । सानो उमेरमा भन्दा पाको उमेरमा सिक्न कठिन हुने उनीहरूको अनुभव छ । निमित्त प्रधानाध्यापक तेजकुमारी लुइँटेल भन्छिन्, ‘तैपनि आमाहरूले मिहेनत गर्नुभएको छ । उपलब्धि राम्रो छ ।’ सानो उमेरमा अक्षर चिन्नै नपाएका, बिहेबारी लगायतका कारण पढाइ बीचमै छाडेका बुटवल र आसपासका आमाहरूका लागि साधना महिला विद्यालय अहिले वरदान नै बनेको छ । घर नजिकै महिला विद्यालय खुलेपछि आमामात्रै होइन, हजुरआमा बनेका निरक्षर पनि पढ्न गएका छन् । ‘कालो अक्षर भैंसी बराबर’ भएकाहरूले अक्षर चिन्न र हरहिसाब गर्न जानेपछि आफ्नो घर–व्यवहार सजिलोसँग चलाएका छन् । केहीले जागिर खान र व्यवसायसमेत गर्न थालेका छन् । त्यस मध्येकी हुन्, सीता हमाल । छोराछोरी हुर्काएर पढ्न आएकी उनी एसएलसीपछि अहिले बीटीआईमार्फत टेक्निकल इन्स्टिच्युटमा जागिर गर्छिन् निरक्षरता र अधुरो शिक्षाले महिला विभेद भएको देखेपछि शिक्षाबाट महिला सशक्तीकरण गर्न १० वर्षअघि साधना महिला विद्यालय स्थापना भएको हो । ५० जना महिलाले सार्वजनिक गुठीद्वारा सञ्चालन गरेको विद्यालय अहिले सामुदायिक बनेको छ । कक्षा १० सम्म पढाइ हुन्छ ।
अहिलेसम्म १ हजार ३ सय पढ्ने अवसर पाएको विद्यालयमा हाल १ सय ३५ महिला अध्ययनरत छन् । ५ वर्ष अघिदेखि एसएलसी परीक्षामा सहभागी विद्यालयबाट अहिलेसम्म २९ जना आमाले एसएलसी उत्तीर्ण गरेका छन् । त्यसमध्ये २४ जनाले उच्चशिक्षा पढ्न थालेका छन् । ४ जनाले जागिरसमेत पाएका छन् । महिलाले सार्वजनिक गुठीद्वारा सञ्चालन गरेको विद्यालयलाई सामुदायिक बनाउन सरकारले अहिले पूर्व प्रावि अर्थात कक्षा ४ सम्मको स्वीकृति दिएको छ । यसबापत एकजना शिक्षक उपलब्ध गराएको छ । विद्यालयमा दुईथरी विद्यार्थी छन् । त्यसमध्ये एकथरी कालो क–समेत नजान्ने आमाहरू छन् । उनीहरू घरमा छोराछोरी विद्यालय वा कलेज र श्रीमानलाई कार्यालय पठाएर फुर्सदमा विद्यालय आउने गरेका छन् । यस्ता आमाहरू सानो कक्षामा छन् ।
सानो उमेरमा अक्षर चिन्नै नपाएका, बिहेबारी लगायतका कारण पढाइ बीचमै छोडेका बुटवल र आसपासका आमाहरूका लागि साधना महिला विद्यालय अहिले वरदान नै बनेको छ ।
अर्कोथरी विपन्नताका कारण पढाइ बीचमै छाडेका वा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य पारिएका किशोरीहरू छन् । उनीहरू घरमालिकलाई दिउँसो केहीबेर फुर्सद दिन आग्रह गरेर विद्यालय आएका हुन् । घरेलु मजदुर किशोरीहरू निमावि र मावि तहमा बढी छन् । दुवैथरी विद्यार्थीको फुर्सदलाई लक्षित गरी बिहान ११–३ बजेसम्म विद्यालय सञ्चालन गरिएको छ । गृहिणी महिला वा घरेलु मजदुर किशोरीहरू बिहान घरमालिक वा उनका छोराछोरीलाई अफिस वा विद्यालय पठाएर साँझ उनीहरू घर नफर्कँदै पुगुन् भनी यसो गरेको शिक्षक विष्णु केसीले बताइन् ।विद्यालयकी अध्यक्ष सावित्रा अर्याल शिक्षा नहुँदा आत्मनिर्भरता, रोजगारी र अवसरका धेरै बाटा बन्द भएको देखेपछि महिला विद्यालय खोल्न प्रेरणा जागेको बताउँछिन् । औंठाछाप लगाउन विवश महिला सभासदहरूदेखि रुपैयाँ नचिनेर ठगिएका धेरै महिलाले बुढेसकालमा यहाँ पढेर नयाँ जीवन पाएका छन् । विद्यालयले २ तले नयाँ भवन बनाएको छ । बुटवल उपमहानगरपालिकाद्वारा उपलब्ध जग्गामा भवन बनाउन स्थानीय निकाय, संसद् विकास कोष लगायतबाट सहयोग प्राप्त भएका छन् ।
साधना महिला विद्यालयजस्तै अधुरो शिक्षा पुरा गर्न पाका महिलाका लागि खोलिएका महिला विद्यालय नेपालमा ६ वटा छन् । काठमाडौं बाहिर भने एउटामात्र बुटवलमा छ । यस्ता विद्यालयमा आमा उमेर समूह झन्डै तीन हजार र हजुरआमा समूहका झन्डै तीन सयले अध्ययन गरिरहेका छन् । अघिल्लो वर्ष काठमाडौंबाट माओवादी नेता मोहन वैद्यकी पत्नी सुष्माले एसएलसी उत्तीर्ण गरिन् । एमाले पूर्व सभासद शान्ता चौधरीले कक्षा ८ उत्तीर्ण गरेपछि अनपढ हजुरआमा र आमाहरूले धेरै प्रेरणा लिएका छन् ।





0 comments
Write Down Your Responses