रोमाञ्चक डीपीएलको प्रतीक्षा

चैत्र, - घरेलु क्रिकेटमा सुख्खा लागिरहेको समयमा सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले नयाँ तरंग ल्याएको छ । नेपाली क्रिकेटमा पहिलो पटक फ्रेन्चाइज गरिएको टिम र अक्सनमार्फत खेलाडी छनोट गरिएको डीपीएल सोमबार सुरु हुँदै छ ।

 ट्वान्टी–ट्वान्टी अनिश्चितताको खेल हो । धनगढीको सानो मैदानमा अझ अनुमान गर्न गाह्रो छ । डीपीएल खेल्ने ६ टोली कस्ता छन्, तयारी कस्तो भइरहेको छ ? तिनै टिमहरूको प्रदर्शन कस्तो हुनसक्छ ?
अपत्यारिलो रूपन्देही
जहाँ शक्ति गौचन हुन्छन्, त्यहाँ समर्पण र साहस हुन्छ । शक्तिको कप्तानीमा रहने रूपन्देही च्यालेन्जर्सको शक्ति यही नै हो । खेलाडीका हिसाबमा रूपन्देही औसत टोलीमा देखिएको छ । तर प्रतियोगितामा सहभागी अन्य ५ टोलीका लागि सबैभन्दा कठिन रूपन्देहीको चुनौती नै हुनेछ ।
शक्तिले आफ्नो टोलीको बलिङ मोर्चा सम्हाल्ने छन् र उनलाई स्पिन बलिङमा लेग स्पिनर विक्रम भुसाल र देव्रेहाते स्पिनर शाह आलमको साथ हुनेछ । कृष्ण कार्की र विक्रम सोबले मध्यम गतिमा आफ्नो स्पिनरहरू अगाडि सहयोगी हुनेछन् । कृष्ण र विक्रमलाई मध्यपंक्तिमा दुर्गेश गुप्ताले साथ दिनेछन् । शक्तिकै कप्तानीमा न्यु होराइजन कलेजले दुई वर्षअघि धनगढीमा एसपीए कप जित्दा यस्तै औसत टोली थियो । बलिङ त्यसको मुख्य हतियार थियो । एसपीए कपको स्थानमा गत वर्ष धनगढी क्रिकेट लिग ल्याइएको थियो र यो दुवैलाई समायोजन गरेर अहिले धनगढी प्रिमियर लिग खेलाउन लागिएको हो । ‘हाम्रो टिम सन्तुलन छ । सुवास खकुरेलको अभाव हुनसक्छ । उनको स्थानमा शंकर राना र हरिशंकर शाहलाई ओपनिङ ब्याटिङमा पठाउने तयारी छ । कन्डिसनका हिसाबमा भैरहवामा एक साता प्रशिक्षण राखेर हामीले तयारी गरेका थियौं, राम्रै भयो,’ शक्तिले सुनाए । सुवासले घरायशी कारण प्रतियोगिता नखेल्ने निश्चित भइसकेको छ । उनको स्थानमा दिपेश श्रेष्ठलाई ल्याइएको छ । दिपेशले अघिल्लो सातामात्र बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कपमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए ।
जंगबहादुर थापाको प्रशिक्षणमा रहेको रूपन्देहीले भैरहवामा प्रशिक्षणको क्रममा दुई अभ्यास खेल खेलेको थियो । भारतको गोरखपुरबाट टिम झिकाई उनीहरूसँग एक खेल र रूपन्देहीको स्थानीय टोली खुकुरी क्रिकेट क्लब र न्यु होराइजनले बनाएका टोलीसँग खेलेका दुवै खेलमा च्यालेन्जर्सले सफलता पाएको थियो । रूपन्देही शनिबार धनगढी आइपुग्ने छ र टोलीले सोमबार पहिलो खेलमा कञ्चनपुर आइकोनिकसँग प्रतिस्पर्धा गर्नेछ । ब्याटिङमा शंकर र हरिशंकरसँगैं राजेश पुलामी, पुष्प थापा, अन्तिम थापा, विकेटकिपर प्रकाश केसी, नूरध्वज सेन छन् । ब्याट्सम्यानको साथ रहेमा रूपन्देही अपत्यारिलो टिम बन्न सक्छ ।
एकरूपको विराटनगर
विराटनगर किंग्सलाई दाबेदारका रूपमा हेरिएको छ । विगतको प्रदर्शनमात्र नभई वर्तमानले पनि विराटनगरलाई यो स्थितिमा ल्याएको हो । तीन वर्षअघि धनगढीमा नेपाल प्रिमियर लिग भएको थियो । फाप्ला मैदानमा भएको प्रतियोगिता विजेता पञ्चकन्या तेज थियो । शरद भेषावकरले घरेलु क्रिकेटमा आफ्नो कप्तानी जादु नेपाल प्रिमियरबाट एभरेस्ट प्रिमियर लिगसम्म देखाए । दुवैमा पञ्चकन्या विजेता रह्यो ।
भदौमा एभरेस्ट प्रिमियर जितेको टोलीका प्रमुख खेलाडी शरदसँगै दीपेन्द्रसिंह ऐरी, सुशील कँडेल, आशिफ शेख अहिले विराटनगर टोलीमा छन् । त्यसमा लेग स्पिनर सन्दीप लामिछाने र घरेलु क्रिकेटमा राम्रो प्रभाव पार्दै आएका अमित श्रेष्ठ थपिएका छन् । विराटनगरका प्रशिक्षक दीपेन्द्र चौधरी दाबेदारको विशेषण झुन्डाउँदा आफ्नो टोलीलाई दुई पक्षबाट हेर्छन् । एउटा आफ्नो टिमले अरुलाई दबाब दिने, अर्को दाबेदार भन्दा आफै दबाबमा परिने । तर उनी मान्छन्– विराटनगर किंग्स साँच्चैको बलियो छ र यसको पहिलो लक्ष्य शीर्ष दुई टोली भएर फाइनल पुग्नु हो ।
काठमाडौंमा १० दिनको प्रशिक्षण भने टोलीको औसत रह्यो । ‘राष्ट्रिय टोलीबाहेक खेलाडी प्रशिक्षणमा थिए । उनीहरूले सवै क्षेत्रमा मिहिनेत गरेका छन् । युवा खेलाडीले मिहिनेत गरेका छन् । एकापसलाई सहयोग गरेर प्रशिक्षण गरेका थियौं,’ चौधरीले भने, ‘बलिङमा हाम्रो शक्ति छ, स्पिन बलर राम्रा छन् । काठमाडौंमा मैदान नपाएर पूरा अभ्यास गर्न पाएनौं । भेलोसिटीको इन्डोर र त्रिविको अभ्यासको सेन्टर विकेटमा मात्र प्रशिक्षण गरेका थियौं ।’ घरेलु क्रिकेटको प्रभावपछि शरद राष्ट्रिय टोलीका उपकप्तान भइसकेका छन् । पारस खड्का अस्वस्थताका कारण अनुपस्थित हुँदा ज्ञानेन्द्र मल्ल कप्तानमा बढुवा भएपछि शरदले यो अवसर पाएका थिए ।
अन्डरडग काठमाडौं
भैरहवाको सीमावर्ती सहर गोरखपुरमा चार म्याच खेलेर काठमाडौं गोल्डेन्स शुक्रबार धनगढी आइपुगेको छ । टर्फ विकेटमा खेल्दा ३ खेल जितेको थियो । तयारी हिसाबमा हेर्ने हो भने सबैभन्दा राम्रो तयारी यही गोल्डेन्स टिमकै देखिएको छ । ‘नाम कहलिएका ब्याट्सम्यान खासै कोही छैनन्, अलराउन्डर धेरै छन्, यी अलराउन्डरले दुवै भूमिकामा आफ्नो पोख्त देखाउनै पर्छ । वसन्त रेग्मी र सोमपाल कामीजस्ता अलराउन्डर छन् । उनीहरूले राम्रो गर्नुपर्छ । हामी उनलाई माथि पठाउने तयारी गरिरहेका छौं । सोमपाल ५ नम्बरमा खेल्ने छन्,’ काठमाडौं गोल्डेन्सका प्रशिक्षक वसन्त शाहीले भने ।
नरेश बुढाऐर र सुवेन्दु पाण्डे ओपनिङमा जाने छन् । शाही गोरखपुरमा युवा ब्याट्सम्यान सुमित महर्जनको खेलबाट प्रभावित भए । मञ्जित श्रेष्ठले घाइते भएर सबै म्याच खेलेनन् । सन्दीप जोरा र भुवन पौडेल पनि राम्रो लयमा देखिएको शाही बताउँछन् । शाही आफ्नो टिमलाई मूल्यांकन गर्छन्, ‘अरु टिमको तुलनामा कागजी हिसाबमा हामी कमजोर देखिन्छौं, तर हामी अन्डरडग हुनसक्छौं । हामीले गोरखपुरको राम्रो विकेटमा खेल्यौं । धनगढीको विकेट कस्तो हुन्छ त्यसमा हाम्रो आशा भर पर्न सक्छ ।’
कञ्चनपुरको जित्ने दाउ
कागजी हिसाबमा कञ्चनपुर आइकोनिक सबैभन्दा बलियो टोली हो । तर विनोद भण्डारीको कप्तानी घरेलु क्रिकेटमा अझै जम्न सकेको छैन । एभरेस्ट प्रिमियरमा उनको टोली सगरमाथा लिजेन्ड्स पुछारमा थियो । जित्ने स्थितिमा रहेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको फाइनलमा नेपाल एपीएफ क्लबसँग गुमाउँदा र रूस्लान कपको फाइनलमा नेपाल पुलिस क्लबको हातबाट पराजय भोग्दा दुवैमा विनोदको कप्तानीमा खोट लगाउने धेरै थिए ।
धनगढी उनका लागि घरेलु मैदानजस्तै हो । बलियो टोली भएका कारण उनी टिमको स्पष्ट लक्ष्य सुनाउँछन्– जित्ने । ‘हाम्रो ब्याटिङ र बलिङ दुवै राम्रो छ । टिम राम्रो भएपछि अलिकति दबाब भइहाल्छ,’ उनी भन्छन्, ‘राम्रो टिम लिएपछि जित्नु परिहाल्छ । यसपटक जित्नेमा विश्वस्त छु ।’
शुक्रबार सीवाईसी अत्तरियासँगको अभ्यास खेल पानी परेका कारण एक इनिङ्समै रोकिएको थियो । ५ दिन भयो कञ्चनपुरले अभ्यास गर्दै ३ खेल खेलेको । नीरज चन्द घरायसी कारण भारत गएकाले बाँकी १४ खेलाडीमै खेल्नुपर्ने स्थिति भएको विनोद बताउँछन् । उनी आएर प्रतियोगिता खेल्ने केही निश्चित छैन । निश्चित के छ भने सागर पुन र सुनील धमलाले ओपनिङमा ब्याटिङ गर्ने । त्यसपछि ब्याटिङमा को आउँछ त्यो अनिश्चित छ । ओपनरबाहेक स्थिति हेरेर अरुलाई जुनै नम्बरमा पनि ब्याटिङमा पठाइने विनोद बताउँछन् ।
रहस्यमय अत्तरिया
सीवाईसी अत्तरिया टिमको ओपनिङ ब्याट्सम्यान को हो भनेर कप्तान ज्ञानेन्द्र मल्ललाई सोध्दा त्यसको उत्तर पाइँदैन । अझ यो विषयमा त उनी मिडियासँग त सायदै खुल्लान् । रोशन नेपाली, सन्दीप सुनार, प्रदीप ऐरी र दिलीप नाथ सबै ओपनिङ ब्याटिङका प्रत्यासी हुन् । तर ज्ञानेन्द्र भन्छन्, ‘ओपनिङमा को खेल्छन् भन्न मिल्दैन, पत्रिकामा हाम्रो रणनीति कसरी भन्नू मैले ।’ धनगढीसँगै जोडिएको सहर हो अत्तरिया । अत्तरियालाई आधार बनाएर ३/४ दिनअघिदेखि सीवाईसीले अभ्यास गरिरहेको छ । ‘ठूलै नाम नभए पनि टिम ठीकै छ, सन्तुलन छ । तर हाम्रो टोलीमा हिटर खाले खेलाडी छैनन्,’ ज्ञानेन्द्रले भने, ‘हामीले ६ स्थानीय खेलाडी टिममा राखेका छौं । हाम्रो औसत टिम छ । एकै पटक फाइनल खेल्न पाइँदैन । त्यसैले अहिलेको पहिलो लक्ष्य क्वालिफायर नै हो ।’
ब्याटिङ राम्रै भए पनि उनी बलिङ निश्चित हुनसकेको छैन । प्रमुख बलर करण केसीको एपेन्डिक्स भएर शल्यक्रिया गरिएको थियो । राष्ट्रिय टोलीका तीव्र बलर खेल्ने अझै निश्चित छैन । यद्यपि उनी टिमसँगै छन् । स्पिनरद्वय शशी केशरी, विनोद लामा, तीव्र बलरहरू महबुब आलम र अविनाश बोहराका कारण अत्तरिया औसत टोलीभन्दा माथि नै देखिन्छ ।
पारसमा निर्भर धनगढी
कप्तान पारस खड्का पारिवारिक कामले यतिखेर भारतमा छन् । उनी शनिबारमात्र धनगढी आइपुग्छन् । शुक्रबार उनको टोली टिम चौराहा धनगढी अभ्यास खेलमा ५१ रनमा अलआउट भएर धनगढीसँग १० विकेटले हार बेहोर्‍यो । यसले टिम चौराहा एक खेलाडीमा भर परेको देखाइदियो । हुन त टिममा अनिल मण्डल, पृथु बाँस्कोटा, आरिफ शेख, अनिल मण्डल, राजु रिजाल, सौरभ खनालजस्ता खेलाडी नभएका होइनन् ।
फेरि खेलिएको १० ओभरको खेलमा ९३ रन हानेकाले आत्तिहाल्ने स्थितिमा छैनन् प्रशिक्षक शंकर राना । अलराउन्डर अमरसिंह राउटेला पनि प्लस टु परीक्षाका कारण शनिबार मात्र आइपुग्छन् । ‘हाम्रो सबै क्षेत्रमा सन्तुलित छ । अनिल मण्डलको जोडीका रूपमा को खेल्ने निश्चित छैन,’ प्रशिक्षक रानाले आदिल खान र राजु रिजाललाई हेरेको बताउँदै भने । विकल्पमा प्रेम तामाङलाई पनि राखेका छन् । ‘म्याटमा खेलेका कारण अलि टिम मिलेको छैन, सबै क्षेत्रका खेलाडी छन् टिम मिल्न समय लागिरहेको छ,’ उनले भने । आरिफ शेख र पृथु बाँस्कोटालाई तेस्रो नम्बरको ब्याटिङका लागि उनले हेरिरहेका छन् । कप्तान पारस चौथो नम्बरमा आउँछन् । ‘पारस भनेको राष्ट्रिय टोलीका कप्तान हुन्, उनी आएपछि निश्चय पनि हाम्रो टिम परिवर्तन भइहाल्छ,’ रानाको विश्वास छ ।

0 comments

Write Down Your Responses