पुस्तक समीक्षा : पराक्रमी राजा सलहेश
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो । यहाँ विविध जाति, धर्म र परम्परा कायम छन् । यिनै विविध सांस्कृतिक परम्परामध्ये निकै धनी र सम्पन्न संस्कृति हो– मिथिला संस्कृति । यही संस्कृतिअन्तर्गत मिथिलामा सलहेश लोकगाथा र लोकनाटक प्रख्यात छ । पराक्रमी राजा सलहेश मिथिलाञ्चलका प्राचीन राजा हुन् । लोकपरम्परामा जीवित यिनै राजाका बारेमा खोजअनुसन्धान गरी गङ्गाप्रसाद अकेलाले ‘पराक्रमी राजा सलहेश’ पुस्तक तयार पारेका हुन् । यसमा प्रत्येक वर्ष चैत मसान्तमा मात्र फुल्ने फूलकाबारेमा, मिथिला संस्कृतिको ऐतिहासिकता, प्राचीन क्षेत्र, हालको जनसंख्या, प्रचलित लोकसाहित्य र संस्कृति, सलहेश मन्दिरमा दुसाध (कथित दलित) जातिका पूजारी दनुवारले पूजाआजा गर्दै आएका र ती मन्दिरहरू फूलप्रसाद ग्रहणमा छुवाछूतको कुनै भेदभाव नभएका जस्ता विषय पुस्तकमा समेटिएका छन् ।
अनुसन्धानमूलक यो कृति दुई भागमा विभाजित छ : पहिलो भागमा नेपालको मिथिलाञ्चल र सलहेशको लोकगाथा छ भने दोस्रो भागमा सलहेशको लोकनाट्य प्रस्तुत गरिएको छ । यस कृतिमा लेखकले विभिन्न धार्मिक तथा पौराणिक ग्रन्थमा मिथिलाकाबारेमा उल्लेख भएका प्रमाणहरु प्रस्तुत गर्दै यहाँ प्रचलित लोकसाहित्यको संक्षिप्त परिभाषासमेत समेटेका छन् । साथै मिथिला क्षेत्रका विभिन्न स्थानमा रहेका सलहेश राजाका विभिन्न १० वटा मूर्तिका तस्बिरहरु पनि पुस्तकमा समेटेका छन् ।
मिथिलाको नामका सम्बन्धमा निमि महाराजाले यस नगरको स्थापना गरेपछि त्यहाँ मिथि नामका महाराजा भए र यस स्थानको नाम मिथिला भएको चर्चा पुस्तकमा छ । हाल मिथिला नामले प्रख्यात भए पनि यसका नाम तीरभुक्त, वैदही, नैमिकानन, ज्ञानक्षेत्र, कृपापीठ, स्वर्णलाङ्गल, विकल्मषा, रामानन्दकरी, धनुषा, शाम्भवी, विश्वभामिनी, नित्यमङ्गला, विदेहभूमि, तपोवन गरी १६ नामले प्रख्यात रहनु मिथिलाको मौलिक र सांस्कृतिक विशिष्टता हो । जसरी पूर्णमासी तिथिविना जसरी चन्द्रमा पूर्ण हुँदैन त्यस्तै मिथिलाको यात्राविना सबै तीर्थहरुको यात्रा गरे पनि त्यो पूर्ण हुँदैन । विभिन्न तीर्थहरुमा वार्षौं वास गरेपछि जो फल प्राप्त हुन्छ त्यसबराबरको फल मिथिलाधाममा एक दिन वास गरेपछि प्राप्त हुन्छ भनेर मिथिला तीर्थस्थलको महत्व देखाएइको छ ।
पुस्तकमा मुख्य रुपमा मिथिलामा प्रचलित सलहेश लोकगाथा र लोकनाटकको वर्णन गरिएको छ । राजा सलहेश मूलतः दुसाध जातिका देवता हुन् । दुसाध जातिको बसोवास गर्ने अधिकांश ठाउँमा सलहेशको मूर्ति छन् । ती मन्दिरहरुमा सबै जातजातिका मानिसको समान आस्था र विश्वास छ । लोकनाटकमा प्रस्तुत भएका नायक सलहेश दलित समुदायका दुसाध जातिका हुन् । प्राचीन कालदेखि नै सलहेशका मान्दिरहरुका पूजारी दनुवार (कथित अछूत) जाति रहँदै आएका छन् । तर पनि सबै समुदायका मानिसहरुले आस्थाका साथ उक्त मन्दिरहरुमा फूलप्रसाद ग्रहण गर्दै आएका छन् । यहाँ कुनै जातीय तथा साम्प्रदायिक भावना छैन । यो मिथिलामा प्राचीन कालदेखि नै सामाजिक सद्भाव थियो भन्ने प्रमाण हो ।
राजा सलहेशका बारेमा बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित भन्छन्– मोरङदेखि महात्तरी जिल्लासम्म दुसाद जातिको बसोबास छ । त्यहाँका अधिकांश गाउँठाउँमा सलहेश गह्वर (मन्दिर) हरु र केही ठाउँमा सलहेश फूलबारी पनि रहेका छन् । सलहेश रहेका अधिकांश ठाउँमाहरेक वर्ष वैशाख २ गते मिथिलाको विशिष्ट चाड जुडशीतल पर्व मनाइने सलहेश मेला लाग्ने र सलहेश लोकनाट्य प्रस्तुत गरिने परम्पराले राजा सलहेश ज्यादै लोकप्रिय छन् । लोकगाथा र लोकनाटकमा सलहेश मध्ययुगीन सामन्ती समाजमा कथित तल्लो जातका भनिए पनि उनको जीवन चरित्रले तत्काली समाजमा सुधार र मानवीय भावनाको जागरण गरेकाले अहिलेसम्म पनि उनी लोकमान्य रहेको प्रश्रित बताउँछन् ।
राजा सलहेशका बारेमा बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित भन्छन्– मोरङदेखि महात्तरी जिल्लासम्म दुसाद जातिको बसोबास छ । त्यहाँका अधिकांश गाउँठाउँमा सलहेश गह्वर (मन्दिर) हरु र केही ठाउँमा सलहेश फूलबारी पनि रहेका छन् । सलहेश रहेका अधिकांश ठाउँमाहरेक वर्ष वैशाख २ गते मिथिलाको विशिष्ट चाड जुडशीतल पर्व मनाइने सलहेश मेला लाग्ने र सलहेश लोकनाट्य प्रस्तुत गरिने परम्पराले राजा सलहेश ज्यादै लोकप्रिय छन् । लोकगाथा र लोकनाटकमा सलहेश मध्ययुगीन सामन्ती समाजमा कथित तल्लो जातका भनिए पनि उनको जीवन चरित्रले तत्काली समाजमा सुधार र मानवीय भावनाको जागरण गरेकाले अहिलेसम्म पनि उनी लोकमान्य रहेको प्रश्रित बताउँछन् ।
प्राचीन राजा सलहेशका लोकगाथा तथा लोकनाट्यको ऐतिहासिक कीर्तिमान पाँचौँ छैठौँ शताब्दीदेखि अहिलेसम्म कायम रहँदै आएको प्रत्यक्ष प्रमाण हो– प्रत्येक वर्ष वैशाख १ गते सलहेश फूलबारीमा लाग्ने विष्टि सांस्कृतिक मेला । यो फूलबारी सिरहा जिल्लाको लहान नगरपालिकादेखि ५ किमि पश्चिम, पूर्व–पश्चिम राजमार्गदेखि १ किमि दक्षिणमा अवस्थित छ । यस फूलबारीमा रहेको हारम फूल हेर्न नेपाल र भारतका विभिन्न स्थानबाट हज्जारौँका संख्यामा दर्शनार्थीहरु आउने कुरा लेखकले वर्णन गरेका छन् ।
विभिन्न पुराणहरुलगायतमा उल्लेख भएका श्लोकहरुसहित मिथिलामा प्रचलित लोकगाथा र लोकनाटकलाई मैथिली र नेपाली भाषामा उल्थागरी पुस्तक तयार पारिएको छ । मैथिली भाषासंस्कृतिका बारेमा जिज्ञासा राख्ने र लोकसाहित्यका अनुरागीहरुका लागि यो पुस्तक निकै उपयोगी सावित हुने छ ।




0 comments
Write Down Your Responses