‘२०७३’ फर्केर हेर्दा :

काठमाडौँ, वैशाख- वर्ष २०७३ मा राजधानीकेन्द्रित ठूला अपराध घटेन, बरु बढिरह्यो । उपत्यकामा विगतदेखि नै ‘प्रहरी हुँ’ भन्दै ठग्ने प्रवृत्ति यसपटक पनि रोकिएन् । पहिले नक्कली प्रहरीले आफुलाई ‘प्रहरी हुँ’ भन्दै ठग्ने गरेको पाईन्थ्यो भने बर्ष २०७३ मा राज्यको बर्दी भिरेका बहालवाल प्रहरी अधिकारी नै ठगी धन्दामा संलग्न भएको पाईयो । यत्तिसम्म की महानगरीय प्रहरी परिसर ललितपुर मातहत रहेको प्रहरी प्रभाग वुंगमतीका इन्चार्ज ईन्सपेक्टर अनिल पाण्डितले मेनपावर ब्यवसायी तारा रेग्मीसँग ‘तिम्रो मुद्दा रहेछ पैसा नदिए फसाईदिन्छु’ भन्दै ७५ हजार असुल गर्न पुगे । पूर्व मन्त्री श्यामसुन्दर गुप्ताको निर्देशनमा तारसँग पैसा उठाउन पुगेको ईन्सपेक्टर पछि पक्राउ परे । अपराधको पनि राजधानी मानिने उपत्यकामा २०७३ सालमा घटेका महत्वपुर्ण अपराधिक घट्ना यस्ता छन् :
अपराध नम्बर १ः पूर्वमन्त्रीले पूर्वडिआईजीको प्रेमिका धम्क्याएपछि…
सशस्त्र प्रहरीका डिआईजी रन्जन कोईराला र पुर्वमन्त्री श्यामसुन्दर गुप्ता लामो सयम जेलमा सँगै बसे । डिल्लीबजार कारागारमा रहँदा गुप्ता र रन्जन बिच दोस्ती जमेको थियो । त्यहि दोस्तीको दुरुपयोग गर्दै आफु जेलबाट छुटेपछी गुप्ताले प्रहरी इन्सपेक्टर अनिल पण्डितलाई प्रयोग गरेर रन्जनकी प्रेमिका तारा रेग्मीसँग बार्गेनिङ गर्न थाले । ‘गीता ढकाल हत्या प्रकरण’मा काठमाडौं जिल्ला अदालतले २०७१ वैशाखमा गरेको फैसला कार्यान्वयन नहुने वातावरण बनाईदिन्छु भन्दै लाखौँ माग्न थालेको उजुरी परेसँगै ललितपुरका तत्कालिन एसएसपी पिताम्बर अधिकारीले श्यामसुन्दरलाई पक्राउ गरे । श्यामसुन्दर सँगै इन्सेपक्टर पण्डित र तारा रेग्मी समेत प्रहरी फन्दामा परिन् ।
२०७३ भदौ २१ गते पक्राउ परेका गुप्ता र पण्डितलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो भने तारा रेग्मीलाई जिल्ला अदालत काठमाडौंको आदेशले केन्द्रिय कारागार जगन्नाथ देवल चलान गरिएको थियो । तारालाई टेलिफोन गरेर गुप्ताले ‘तपाईको व्यवसाय तथा परिवारको बारेमा सबै थाहा छ, पैसा नदिए जे पनि गर्न सक्छु’ भन्दै धम्की दिएका थिए ।
अपराध नम्बर २ः विदेशी ह्याकरको निशानामा एटिएम बुथ
२०७३ सालमा एटिएम कार्डमा प्रयोग हुने पिन चोरी गरेर अर्काको खाताबाट रकम निकाल्ने गिरोहका करिब एक दर्जन विदेशी नागरिक काठमाडौंबाट पक्राउ परे । ठमेल र दरबारमार्ग लगायतका एटिएम बुथहरुमा हिडन् क्यामरा र चिप्स मार्फत पिन नम्बर पत्ता लगाएर पैसा निकाल्ने ३८ बर्षिय बुल्गेरियन डिमो अटेन्सोभ स्टेफानोभ सहित केन्द्रिय अनुसन्धान ब्युरोले रोमानीयाका पुर्व पाईलट तथा तिन जना मोल्दोभियन नागरीकलाई पक्राउ गरेको कारवाही गरेको थियो । २०७१ मंसिर देखी नेपालमा एटिएम चोरीमा संलग्न विदेशी पक्राउ पर्न थालेको थिए । २०७३ सम्म आउँदा एटिएम चोरीमा संलग्न विदेशीको संख्या बढ्दै गएको छ ।
त्यस्तै कार्ड स्वाईप मेशिनको दुरुपयोग गरेर अर्काको खाताबाट लाखौं निकाल्ने समुह समेत २०७३ मा काठमाडौंमा सक्रिय भए । कार्ड स्वाईप मेशिनबाट पैसा निकाल्ने एउटा गिरोहलाई नियन्त्रणमा लिएर महानगरीय अपराध महाशाखाले मुद्दा दायर गरेको थियो ।
अपराध नम्बर ३ : एयरपोर्टबाटै भित्रियो साढे ३३ किलो सुन
२०७३ पुस २१ गते शुक्रवार मध्यान्ह बा.२ ज २९१५ नम्बरको ट्याक्सि चढेर एयरपोर्ट पुगेका गोपाल बहादुर शाही साँढे ३३ किलो सुन लोड गरेर एयरपोर्ट बाहिरीए । अघिल्लो दिन दुबईबाट आएका शाहीले सुटकेशमा निकै ब्यवस्थित तवरले प्याक गरेर ठुलो परिणामको सुन नेपाल ल्याएका थिए ।
ट्याक्सिमा सुन लिएर एयरपोर्ट बाहिर आउनासाथ केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएकी एसपी मिरा चौधरीको टोलीले शाहीसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।
शाहिले ल्याएको सुन लिन अरु दुईजना बा.४ च ९११४ नम्बरको कार चढेर गएका थिए । तर दुबईबाट आएको सुन हात नपर्दै मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनी समातिए । सेटिङ मिलाएर त्यहि सुन एयरपोर्टबाट पास गराएको अभियोगमा त्रिभुवन विनास्थलमा कार्यरत नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीसहित तीनजना भन्सारका कर्मचारी पक्राउ परे ।
एयरपोर्टबाट ठुलो परिणाममा सुन भित्रिएको करिब २० दिनपछी बालाजुले प्रहरीले केरुङबाट आएको १५ किलो सुन चौमतीबाट नियन्त्रणमा लियो । १५ किलो सुन लोड गरिएको टाटा सुमो भक्तपुर सुर्यविनायक नगरपालिका–११ पलाँसे स्थायी घर भएका रविन्द्र भुजेलले चलाएका थिए ।
त्यतिमात्र हैन, २०७३ मा बौद्ध प्रहरी र महानगरीय अपराध महाशाखाले पनि उल्लेख्य परिणाममा अवैध सुन नियन्त्रणमा लिएका थिए । विगत बर्ष भन्दा सुन तस्करी यस बर्ष बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।
अपराध नम्बर ४ः प्रेमले निम्त्याएको दर्दनाक हत्याकाण्ड !
कुरा २०७३ कात्तिक तिरको हो । सिन्धुपाल्चोक की एलिशा नेपाली र रामेछापका मुक्तिनाथ लामीछानेको भेट संयोगले भएको थियो, बुढानिलकण्ठको पानी फ्याक्ट्रिमा । ‘रिफ वाटर प्रोसेस’ नामक पानी फ्याक्ट्रिमा २०७३ वैशाखतिर जागिरको खोजिमा पुगेका थिए मुत्तिनाथ । एलिसा त्यहाँकी पुरानै स्टाफ थिइन् ।
एलिशा लक्का जवान थिईन्, २३ बर्षिया । प्रेमलाई उमेरको कहाँ छेक्छ र ? देखादेख भएको केही दिनमै उन्नाइस बर्षका रेशमले आफुभन्दा दुई–चार बर्ष जेठी एलिशालाई आँखामा सजाउन थालिसकेका थिए । एलिशाले नारायणथानमा कोठा लिएकी थिइन्, दिदी बहिनी सँगै बस्थे । मुक्तिनाथ पानीको जार डेलिभरी गर्ने गाडीको सहयोगीको रुपमा काम गर्थे, फ्याक्ट्रीमै बस्थे ।
जागिरमा जोडिएको केही दिनमै मुक्तिनाथले एकान्त पारेर भने, ‘आई लभ यु एलिशा !’
एलिशाले कुनै जवाफ दिईनन्, तर मुक्तिनाथले बुझे, ‘उनी पोजेटिभ भैसकिन् ।’
प्रेमिकालाई खुसी बनाउन मुक्तिनाथ बेला–बेला पैसा दिन्थे । पछि उनले दिएको पैसाको ग्राफ बढेर ५५ हजार बाट उकालो लागीसकेको थियो । पछि त्यहि ५५ हजार एलिशा हत्याको धेरै कारण मध्ये एउटा कारण बन्न पुग्यो ।
‘केटाको पृष्ठभुमी आपराधीक खालको देखिन्छ’ घटनाको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाको डिएसपी दिपक रेग्मीले भने, ‘केही समयअघी रामेछापमा भएको आगलागी मुद्धामा भक्तपुरको ठिमीबाट पक्राउ परेर १ लाख पचास हजार धरौटीमा छुटेको प्रहरी रेकर्डमा भेटियो ।’
उनी आगलागीमा मात्र मुछिएका थिएनन्, मुक्तिनाथ संलग्न चोरिएको एउटा केस छलफलमा मिलाईएको थियो ।
पानी फ्याक्ट्रिमा पनि आचरण ठिक नभएको कारण देखाएर उनलाई साहुले कामबाट निकालीदिए ।
रामेछापको ओख्रेनी स्थायी घर भएका मुक्तिनाथ भत्तपुरको बोडेमा बस्थे । ओख्रेनीको विश्वकर्मा परिवारले बोडेमा सानो घर बनाएको थियो । दलित परिवारमा जन्मेका मुक्तिनाथ आफुलाई लामीछाने भनेर चिनाउँथे ।
छोटो समयमै पानी फ्याक्ट्रिको जागिरबाट हात धुनुपरेपछि मुक्तिनाथ बोडेस्थित घरमै गएर बस्न थाले ।
यता एलिसासँग फोनफान र जाउ–आउ चलि नै राख्यो । मुक्तिनाथ फुर्सदिलो थिए, एलिशा समय मिलाउथिँन्, पाँच महिनाको बिचमा उनिहरु कम्तिमा तिन पटक फिल्म हेर्न पुगेका थिए । त्यतिन्जेल मुक्तिनाथ सोच्थे, ‘एलिशा मेरी भैसकिन् ।’
यहिँनेर मुक्तिनाथले सोचेको कुरा गलत हुन पुग्यो । एलिशा उनको भैसकेकी थिइनन् । अर्का युवा श्याम श्रेष्ठसँग उनको नयाँ प्रेम शुरु भएको थियो । गएको दशैं अगाडी श्याम र एलिशाको नयाँ सम्बन्ध मुक्तिनाथले थाहा पाए । त्यसपछी शुरु भएको प्रेम–पिडाले उनको मुटु घोच्न थाल्यो ।
‘आफुले पैसा समेत दिनेगरेको केटी अर्कैसँग लागेका कुरा मुक्तिनाथ असह्य भएको देखिन्छ’ डिएसपी रेग्मी भन्छन्, ‘गएको कात्तिक १२ गते एलिशाले विदेश जाँदैछु भेट्न आउँछु भनेर केटालाई चावहिल बोलाएकी थिईन्, त्यहि दिन उनको हत्या भयो !’
चावहिलमा चिया पिउँदै गर्दा एलिशाले भनिन्, ‘अब विदेश जाँदैछु ।’
उनको नयाँ केटा साथीबारे चाल पाईसकेका मुक्तिनाथले त्यो कुरा पनि कोट्याए । एलिशाले निर्धक्क स्विकारीन् । ‘हो, म श्यामसँग लभ गर्छु !’
प्रेमको महासागरको एक किनाराबाट शुरु भएको त्यहि विवादपछी मुक्तिनाथले एलिशाालाई भक्तपुरको बोडे स्थित आफ्नो घरमा लगे, अनि क्रुर तवरले हत्या गरेर मध्यरातमा शव प्याक गरेर फालिदिए ।
घट्नाको अनुसन्धानपछी २०७३ कात्तिक २३ गते मुक्तिनाथलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुरको च्याम्हासिंह पुग्यो । उनि फुपुदीदीको घरमा गएर बसेका थिए । आफुलाई घेरा हाल्न रातमा आएको प्रहरी आएको सुईंको पाएपछी उनले भाग्ने प्रयास गरे, अन्तत सकेनन् । प्रहरी उनलाई नियन्त्रणमा लिन सफल भयो ।
यसरी एउटा छोटो प्रेम कहानीको दर्दनाक अवसान भयो ।
अपराध नम्बर ५ः ‘डाक्टर सा’प हरु प्रहरी खोरमा !
‘डिआईजी साप, मेरो श्रीमानलाई चाँडै छाडिदीनुस नँ, भोलि मेरो युएसएको फ्लाईट छ, सानो बच्चा कसलाई छाडेर जानु ?’ २०७३ असार ६ गते केन्द्रिय अनुसन्धान ब्युरो प्रमुख डिआईजी नवराज सिलवाललाई भेट्न पुगेकी डा. निलम आचार्य आफ्नो श्रीमानको मुद्धा चाँडै टुंग्याईदिन आग्रह गर्दै थिईन् ।
अघिल्लो दिन ब्युरोको हिरासतमा रहेका उनका श्रीमान बोदित आचार्य नक्कली सर्टिफिकेटधारीको आरोपमा पक्राउ परेका थिए । आचार्य पुरानो बानेश्वरको केयर डेन्टल क्लिनीकमा काम गर्थे । ‘क्लिनीकमा आउनेहरु सोध्छन् डा’साव कता जानुभो ?’ उनले थपिन्, ‘बाहिर जानुभएको छ एकदुई दिनमा आउनुहुन्छ भनेर टार्ने गरेकी छु, यसरी कत्ति दिन टार्नु ?’
यस्तो छट्पटी निलमलाई मात्र भएन्, २०७३ सालमा ३६ भन्दा बढी डाक्टर र तिनका परिवार ‘नक्कली डाक्टरको’ ट्याग लागेपछी छट्पटीकै बिचमा जिउन बाध्य भए ।
विभीन्न दश जिल्लाबाट केन्द्रिय अनुसन्धान ब्युरोले एकैपटक ३६ डाक्टर नियन्त्रणमा लिँदा समाजमा ठुलै हलचल मच्चियो । घाउ लिएर अस्पताल पुग्नेहरु सोच्न थाले, ‘कतै मेरो स्वास्थ्य जाँच गर्ने डाक्टर नक्कली त हैन ?’
यसरी मर्यादित पेशाको दुरुपयोग गरेर ठगी गर्ने ३६ जना डाक्टरहरु बिरुद्ध सिआईबीले ठगी मुद्धा दर्ता गरेर अनुसन्धान गरेको थियो । अहिले उनिहरु धरौटीमा छुटेपछि मुद्दा फैसला भैसकेको छैन । कसुर प्रमाणीत भएका डाक्टरहरु ५ बर्ष जेल बस्नेछन् ।
अपराध नम्बर ६ : प्रतिष्ठित नै ठग, प्रेम कटुवाल देखि केदारबाबुसम्म !
कराँते महासंघको महासचिव केदारबावु शिवाकोटी २०७३ जेठ पहिलो साता पक्राउ परे । नेपाल प्रहरी र आर्मिका अफिसरको बारेमा कुरा गर्ने शिवाकोटीको दर्जनौं न्यायाधीश र सिडीओहरुसँग उनको कुनै न कुनै साईनो थियो । आफुलाई सँधै ब्यस्त देखाउने तिनै खेल पदाधिकारीले बाराका प्रकाश श्रेष्ठलाई राष्ट्रिय अुनसन्धानको असई बनाईदिन्छु भन्दै ७ लाख पचास हजार ठगेपछी प्रहरीको फन्दामा परेका शिवाकोटीले ‘जिल्ला अदालत काठमाडौंका न्यायाधिशलाई मिलाईदिन्छु’ भनेर १ लाख असि हजार तथा पुर्व सभाषद् किरण राईको भाञ्जासँग बिस लाख ठगेको खुलेको थियो ।
त्यतिमात्र हैन उनले जिमको वल्र्ड च्याम्पियनसिपमा पहिलो नेपाली महिला सहभागी निर्मला खड्काको भाई निलकण्ठ महर्जनको रेप केस मिलाईदिन्छु भनेर १ लाख ८० हजार ठगी गरेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेका थियो ।
शिवाकोटी मात्र हैन, प्रतिष्ठित मेनपावर ब्यवसायीको रुपमा कहलिएका प्रेम कटुवाल समेत यसबर्ष प्रहरीको खोरमा सुत्न बाध्य भए ।
गत फागुनमा फेसवुकमार्फत दर्जनौं महिलालाई ठगी गरेको आरोपमा कटुवाललाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको थियो । उनले अधिकांश विवाहित तथा श्रीमान विदेशीएका महिलाहरुलाई फेसवुकबाट विदेशी नागरीकको नामबाट साथि बनाएर उपहार पठाउने नाममा ठगी गर्ने गरेका थिए ।
अपराध नम्बर ७ः श्याम सुन्दरसँग फिरौती, राधिकाको हत्या
धादिङ्गबाट काठमाडौं छिरेकी राधिका श्रेष्ठको डेरा कालिमाटीमा थियो । जिन्दगीलाई प्रगतिको शिखरमा लैजाने अठोट लिएर काठमाडौं आएकी राधिकाले लामै मेहनतपछी मख्खन गल्लि स्थित ‘न्यु डालिज साडी एण्ड साडी सन्सार’ मा जागिर पाईन् ।
जागिर खान कालीमाटी हुँदै मख्खन गल्ली जाने बाटोमा एउटा मोवाईल रिपेयरीङ पसल थियो । एकदिन बिग्रेको मोवाईल बनाउने क्रममा त्यो पसलमा छिरेकी राधिकालाई के थाहा मोवाईल पसले सँगै माया बस्ने कुरा !
करिब तिन बर्षअघी आफ्नो मोवाईल पसलमा आएकी राधिका र प्रकाश लामिछानेको आँखा जुध्यो । अन्तत पहिलो हेराई प्रेम बिजको रुपमा अंकुराउन थाल्यो । यसरी दुई बर्षअघी देखी प्रेमको अंगालेमा बाँधेका मोवाईल पसले प्रकाश लामिछानेले तिनै राधिकालाई प्रयोग गरेर ब्यापारी अपहरणको योजना बनाए ।
प्रकाशले अपहरणको निशाना यस्तो ब्यपारीमाथी लगाए, जो राधिकाकै साहुजी थिए, श्याम सुन्दर अग्रवाल । राधिका श्याम सुन्दर अग्रवालकै स्टाफ थिईन, ‘न्यु डालिज साडी एण्ड साडी सन्सार’ उनको अफिस थियो ।
कुरा गएको फागुन ५ गतेको हो । दिउँसो १ बजेतिर प्रकाशको योजना अनुसार राधिकाले आफ्ना साहुजीलाई टेलिफोन गरेर ‘अर्जेन्ट काम छ’ भन्दै सुन्धारा स्थित सन साईन होटलको ४०४ नम्बर कोठामा बोलाईन् । आफ्नै स्टाफले टेलिफोन गरेपछी श्याम सुन्दर सन् साईन होटल खोज्दै पुगे ।
होटलको कोठामा पुगेका साहुजिलाई राधिकाले सँगै रक्सि पिउने अफर गरिन् । रक्सिको केही चुस्कि लिनासाथ राधिका र श्यामसुन्दर बसेको कोठामा प्रकाश लामीछाने, सरोज घोरासैने र किशोर गिरी प्रवेश गरे । तिमध्येका प्रकाश लामिछाने राधिकाको प्रेमि थिए ।
तिन जना युवाहरुले श्याम सुन्दरलाई कुटपिट गरे, हातखुट्टा बाँधेर मुखमा टेप लगाएर १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर सोही कोठामा बन्धक बनाएर भागे ।
श्याम सुन्दर अग्रवाललाई प्रहरीले सोही साँझ सकुसल उद्धार गरेको थियो । तर प्रकाश सहितका युवाहरुले अपहरणको योजना सफल भएपछी भक्तपुर स्थित बागेश्वरी–४ मा लगेर तिनै राधिका श्रेष्ठको विभत्स हत्या गरे ।
अग्रवाललाई अपहरण गरेर फिरौती लिएपछि प्रकास र राधिका सहितको टोली बसन्तपुर पुगेका थिए । बसन्तपुरमा उनिहरुले अपहरण बापत आएको पैसा बाँडचुँड गरे । घट्नाको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरिक्षक (डिएसपी) अजय केसीका अनुसार सरोज घोरासैने र किशोर गिरी दुई–दुई लाख लिएर भक्तपुर तिर लागे । बाँकी पैसा राधिका र प्रकाशले राखेका थिए ।
साँझ सात बजेतिर प्रकाश र राधिका मोवाई पसल बन्द गरेर ट्याक्सि लिएर भक्तपुर बागेश्वरी–४ स्थित प्रकाशको घरमा पुगे । केही बेरमा किशोर र सरोज पनि ट्याक्सि चढेर प्रकाशकै घरमा पुगे ।
पछि पक्राउ परेका किशोर गिरीले दिएको बयान अनुसार ब्यापारी अपहरणको पोल खुल्ने डरले प्रकाशले आफ्नै प्रेमीकाको हत्या योजना बनाएका थिए । आफ्नै प्रेमिका भएपनी श्याम सुन्दर अग्रवालको स्टाफ समेत भएकाले राधिकामाथी प्रकाशले शंका गरेको पाईएको छ ।
लामो प्रयासपछी हत्यामा संलग्न सरोज घोरासैने र किशोर गिरीलाई पक्राउ परेका छन् ।
अपराध नम्बर ८ः प्रहरी नै लुटेरा बनेर सुन कारखानामा पसेपछि…
२०७३ चैत तेस्रो साता काठमाडौंको मरुहिटी स्थित एउटा सुन बनाउने कारखानामा एक हुल मान्छेहरु प्रवेश गरे । ति मध्ये केहीले प्रहरीको वायरलेस सेट, हत्कडी र पेस्तोल बोकेका थिए । काठमाडौं महानगरपालिका–१९ मरुहिटी स्थित प्रेम रत्न शाक्यको ५ तले घरको पहिलो तलामा भारतीय नागरीक शिव माइतीले संचालन गरेको सुन कारखाना प्रवेश गरेका ६ जना ब्यक्तिहरु मध्ये एउटाले भने, ‘केहो साहु जी, तस्करीको सुन बेच्ने ? हामी प्रहरी हौं !’
हत्कडी बोकेका र पेस्तोल भिरेका मान्छेलाई प्रहरी होइनन् भनेर अविश्वास गर्नु पनि कसरी ? शिव माईती लल्याक लुलुक भैहाले । महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत प्रहरी हवल्दार बल बहादुर थापा, जवानहरु जनक ढकाल र अमित गुरुङ सहितका ६ जना लुटेरा समुहले उक्त कारखानाबाट ५० तोल सुन लुटे, अनि प्रहरीकै रवाफ देखाएर हिँडे ।
राज्यको बर्दिमा रहेका प्रहरी अधिकारी नै लुटपाटमा संलग्न भएको घट्ना यो मात्रै हैन, गत माघमा ब्यापारी अपहरणपछी फिरौती लिने कार्यक्रमा सलग्न दुईजना प्रहरी सई लाई अपराध महाशाखाले नियन्त्रणमा लिएर कारावही गरेको थियो ।
यसरी २०७३ सालमा एसएसपी देखि हवल्दारसम्म विभिन्न अपराध कर्ममा संलग्न भएको आरोपमा पक्राउ परे, अनि हिरासतमा बस्न बाध्य भए ।

,

0 comments

Write Down Your Responses