विराटनगर प्लेअफमा, चौराहको झिनो आशा

विराटनगर, वैशाख । विराटनगर किंग्स तेस्रो विजय हात पार्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको टिम चौराह धनगढीले चौथो खेलमा आएर पहिलो विजय हात पार्‍यो ।
४ खेलमा ६ अंक पुर्‍याउँदै विराटनगरले अर्को चरणको यात्रा गरेको हो । विराटनगरले शनिबार कञ्चनपुर आइकोनिकलाई ५ विकेटले सजिलै पराजित गर्‍यो । लगातार तीन खेल जितेर रूपेन्देही च्यालेन्जर्स प्लेअफमा पुगिसकेको छ ।
शनिबार टिम चौराहले काठमाडौं गोल्डेन्समाथि ११ रनको विजय पाएको हो । रूपन्देही र विराटनगरको ६–६ तथा काठमाडौं र सीवाईसी अत्तरियाको ४–४ तथा कञ्चनपुर र चौराहको २–२ अंक छ । सहभागी ६ मध्ये शीर्ष चार टोली प्लेअफमा जाने छन् । त्यसमा पहिलो दुई स्थानमा रहनेले क्वालिफायरमा खेल्ने छन् । शनिबार चौराहले प्लेअफमा पुग्ने झिनो आशा ब्यँुत्याएको हो । पराजयका बाबजुद अन्य टोलीभन्दा काठमाडौंको रनरेट राम्रो भएकाले अर्को चरणमा पुग्ने सम्भावना बलियो छ ।

कञ्चनपुर र चौराह प्लेअफमा पुग्न जादु नै हुनुपर्छ । राम्रा खेलाडीको साथ पाएको कञ्चनपुरको ४ खेलमा यो तेस्रो पराजय हो । विराटनगरले टस जितेपछि ब्याटिङ गर्न आएको कञ्चनपुर एसएसपी कार्यालय मैदानमा १७ ओभरमै ८० रनमा अलआउट भयो । डीपीएलमा यो सबैभन्दा न्यून स्कोर हो । विराटनगरले ९.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । डीपीएलमा दोस्रो ब्याटिङ गर्ने टिमले दुई पटक खेल जितेको छ । दुवै पटक विराटनगरले सफलता पाएको हो ।
सन्दीप लामिछाने र सुशील कँडेलले ४–४ विकेट लिँदै विराटनगरलाई प्रभावशाली विजय दिलाउन भूमिका खेले । एकसमय कञ्चनपुर ५६/२ को स्थितिमा थियो । तर सन्दीपले ११ औं ओभरमा महत्त्वपूर्ण तीन विकेट लिएपछि कञ्चनपुर तहसनहस हुन पुग्यो । उनले कुशल भुर्तेललाई १९ रनमा स्टम्पआउट गरी विकेट लिन सुरु गरे । अर्को बलमा ललितसिंह भण्डारीलाई बोल्ड गरेका सन्दीपको ह्याट्रिक बलमा सिद्धान्त लोहनी बिट भए । त्यसपछिको अर्को बलमा सिद्धान्तलाई पहिलो स्लिपमा क्याच गराएर सन्दीपले एकै ओभरमा तीन विकेट पूरा गरे । सन्दीपले अर्को ओभरमा विनोद भण्डारीलाई ४ रनमा बोल्ड गरे ।
विराटनगरको पहिलो ओभर बलिङ सुशीलले गरेका थिए । उनले पहिलो ओभरमै सुनील धमलाको विकेट लिए । सन्दीपले ४ विकेट लिएपछि विकेटमा अडिएर बसेका हासिम अन्सारीलाई २९ रनमा सुशीलले नै आउट गरे । अन्तिम दुई ब्याट्सम्यान आशिष पोखरेल १० र अविनाश कर्णलाई आउट गरी म्यान अफ द म्याच सुशीलले कञ्चनपुरको इनिङ्स टुंग्याएका थिए । सुशीलले ४ ओभरमा १ मेडन राख्दै ८ र सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २८ रन खर्चे । अर्को दुई विकेट जितेन्द्र मुखियाको नाममा रह्यो ।
सागर पुन डीपीएलमा ५ विकेट लिने पहिलो खेलाडी बने । तर उनले कमजोर प्रदर्शन गर्दै आएको आफ्नो टोलीलाई उकास्न सकेनन् । चौथो ओभरमा आफ्नो पहिलो ओभर गरेका सागरले तीन विकेट लिए । उनले पहिला आकाश थापा (१२) तथा त्यसपछि लगातार बलमा आशिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई शून्यमा आउट गरे ।
शदर भेषावकरले सागरको ह्याट्रिकलाई रोके । शरदले १५ बल खेली ५ चौका र १ छक्का प्रहार गरी २८ रन बनाए । सागरले ओपनर अमित श्रेष्ठ (९) र शरदलाई आउट गरे पनि विराटनगरले सजिलै लक्ष्य पूरा गर्‍यो । प्रनित थापामगर ११ र अनिल शाह ८ रनमा अविजित रहे । सागरले ३.१ ओभरमा २५ रन खर्चे ।
चौराहले ८ विकेट गुमाई १ सय ३६ रन बनायो । कप्तान पारस खड्का लगातार दोस्रो खेलमा पहिलो बलमै आउट भए । आरिफ शेखको ५८ रनमा चौराहले चुनौतीपूर्ण स्कोर बनाएको हो । उनको यो स्कोर डीपीएलको उच्च स्कोर पनि हो । यसअघि योगेन्द्रसिंह कार्कीले एकमात्र अर्धशतक बनाउने क्रममा कञ्चनपुरविरुद्धै ५७ रन बनाएका थिए । इनिङ्सको अन्तिम ओभरमा सोमपालको बलमा बोल्ड भएका आरिफले ४५ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । ओपनर अनिल मण्डलले २९, सौरभ खनालले १६ रन बनाए ।
मन्जित र सोमपालले ३–३ विकेट लिए । मन्जितले ४ ओभरमा २० र सोमपालले २२ रन खर्चे । वसन्त रेग्मी र सन्तोष भट्टले १–१ विकेट लिए ।
सोमपालले १८ बलमा १ चौका र २ छक्का प्रहार गरी २४, सन्दीपले २७ बलमा १ चौका र २ छक्का प्रहार गरी २८, रोहित पौडेलले १२ र वसन्तले ११ रन बनाई खेललाई अन्तिम ओभरसम्म पुऱ्याए । अन्तिम ओभरमा काठमाडौं गोल्डेन्सलाई २१ रन चाहिन्थ्यो । तर टोलीले ९ रन बनाउँदै अन्तिम २ विकेट गुमायो ।
आरिफ र सौरभले ३–३ विकेट लिए । आरिफले ४ ओभरमा १७ र सौरभले ३२ रन खर्चे । रामनरेश गिरीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

0 comments

Write Down Your Responses