संगीतमय बन्यो नयाँ वर्ष

 काठमाणडैा, वैशाख- नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालगन्जका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गरिएको छ । बिहीबार साँझ तातिएको सांगीतिक माहोल बिहानसम्मै चल्यो । 
गायकहरू राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटा, बलिउडका प्लेव्याक सिंगर अल्तमस फारिदी, गायिका इन्दिरा जोशीलगायतको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो । साता लामो नेपालगन्ज महोत्सव गरिएको सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा दिउँसोदेखि नै चहलपहल बढेको थियो । सहभागीहरू कार्यक्रम सुरु नहुँदै नाचगानमा मस्त थिए । कार्यक्रमको मुख्य आकर्षण गायक सिवाकोटीले अहिलेका चर्चित गीतहरू ‘सुर्के थैली खै’, ‘पूर्व पश्चिम रेल’ लगायत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिए ।
उनले मञ्चमा गाउँदै गर्दा दर्शकहरू नाच र हुटिङमा मस्त देखिन्थे । स्थानीय कलाकार दीपक सल्मानी, पूर्ण थापा, श्रृष्टि शाहीलगायतको नाच र गीतले पनि माहोल रोचक बनेको थियो । नेपालगन्ज महोत्सव आयोजना गरेको क्रियटिभ ह्यान्ड्स ग्रुपले गरेको न्यु एअर इभले धेरै दर्शक तान्न सक्यो । बिहीबार दुई दिने दोस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल समापन गरियो । त्यसअघि तीन दिनसम्म नेपालगन्ज साहित्य उत्सव गरिएको ग्रुपका अध्यक्ष टीएस ठकुरीले बताए । उनका अनुसार नयाँ वर्षअघिको एक सातालाई नै महोत्सवका रूपमा मनाइयो ।
न्युरोडस्थित होटल कल्पतरुले नयाँ वर्ष पूर्वसन्ध्यामा बिहीबार ठूलो दर्शकको सहभागितामा न्यु एअर इभको आयोजना गर्‍यो । सुरुमै प्रस्तुत भएकी इन्दिरा जोशीले ‘रातो घाँघर’ र ‘उध्रेको चोली’ गीतले दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । उनको प्रस्तुतिपछि चर्चित डान्स समूह बनेको कार्टुन क्र्युले पनि प्रस्तुति देखाएको थियो । गायक एड्रिन प्रधान र उनको समूहले यो मन त मेरो नेपाली हो, जिन्दगी त खेलौ नै भो, सम्झनामा लगायत गीतहरू प्रस्तुत गरेका थिए । कमेडियन सन्दिप क्षेत्रीले मिठाइलाल ज्यादवका रूपमा विभिन्न क्षेत्रको व्यंग्य गरे । कार्यक्रममा बलिउडका प्लेव्याक गायक अल्तमास फारिदीले ‘एक मुलाकत हो,’ ‘तुम मिला सब’, ‘जिना मर्ना’ लगायत गाएका थिए । होटलका महाप्रबन्धक सरोजकुमार चन्दले सहभागीका लागि उच्चस्तरीय परिकारसहित सांगीतिक वातावरण मिलाइएको जनाए । नेपाल र भारतका चर्चित गायक, गायिका, कमेडियन र नृत्य समूहको एकैसाथको प्रस्तुति नेपालगन्जका लागि नौलो भएको महाप्रबन्धक चन्दको भनाइ छ ।
त्यस्तै शुक्रबार होटल हाइट हाउस रिजेन्सीले ‘ग्रान्ड विन विन सिंगिङ, डान्सिङ एन्ड वाटर डिस्को प्रोग्राम’ सञ्चालन गरेको छ । होटलका अनुसार टिपिकल नेपाली परिकारको स्वादसँगै सांगीतिक कार्यक्रम, डिजे लाइभ र सावर डान्स प्रस्तुत गरिएको हो । 
झन्डा उत्सव मनाइयो 
नेपालगन्जस्थित रामलिला मैदानमा झन्डा उत्सव गरिएको छ । शुक्रबार अन्तरालले गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति र स्थानीयले हातहातमा झन्डा लिएर कार्यक्रममा सहभागिता जनाएका थिए । फेस्टिभलमा स्वदेश गान तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । सहभागीले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गरेका थिए । पाइलट एवं कलाकार विजय लामाले नेपालको झन्डा नमुना भएकाले यसको महत्त्व र माया बढ्दै गएको जनाए । पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झाले राष्ट्रियतासँगै झन्डा जोडिएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राष्ट्रिय झन्डाको सम्मानको दायित्व सबैको बताए ।

0 comments

Write Down Your Responses