एक बलर जसले चार बलमा ९२ रन खर्चिए
वैशाख, ढाका – बंगलादेशको घरेलु लिगमा एक बलरले मात्र चार बलमा ९२ रन दिएका छन् ।
क्रिकेट इतिहासमै अनौठो स्कोरकार्ड मानिएको ढाका लिगको तेस्रो डिभिजनको खेलमा लालमाटिया क्लबका सुजोन महमुदले ६५ वाइड र १५ नोबल फालेका थिए ।
यसको अर्थ विपक्षी एक्सियोम क्रिकेटरले ८९ रनको लक्ष्य एक ओभरभन्दा कममा पछ्याएको थियो ।
तर, पछि महमुदले नियोजितरुपमा नै त्यस्तो बलिङ गरेको खुलेको थियो । इएसपिएन क्रिक इन्फो डटकमका अनुसार लालमाटिया टोलीले खेलमा अम्पायरले एकतर्फी निर्णय गरेको विरोधमा त्यसरी बलिङ गरेको थियो । अम्पयारले सिजनभर नै एउटा टोलीको पक्षमा निर्णय सुनाउने गरेको टोलीको आरोप छ ।
लालमाटियाका महासचिव अदनान अहमदले भने, ‘यो श्रृंखला टसबाट नै शुरु भयो । हाम्रो कप्तानलाई सिक्का हेर्न दिइएन । हामीलाई पहिले ब्याटिङ गर्न पठाइयो र अम्पायर लगातार हाम्रो विरुद्ध निर्णयहरु दिए । हाम्रा खेलाडीहरु युवा छन् । उनीहरुले त्यो अन्याय सहन सकेनन् र चार बलमा ९२ रन दिएर विरोध गरे ।’
यो एउटा मात्र होइन । केही समयअघि न्यु एजले पनि तेस्रो डिभिजनकै काथाबगान ग्रिन क्रिसेन्ट क्लब र नर्थ बंगाल क्रिकेट एकाडमीबीचको खेलको बंगालादेश क्रिकेट बोर्डको वेबसाइटमा राखिएको स्कोरकार्डमा पछि एलबिडब्लुको संख्या घटाएर राखिएको थियो ।
पछिल्लो वर्ष ढाका लिगमा अम्पायरिङको विषयमा धेरै उजुरीहरु पर्ने गरेका छन् ।




0 comments
Write Down Your Responses