बेलहिया–बुटवल व्यापारिक मार्ग उज्यालो बनाइँदै
भैरहवा । सडक विस्तारसँगै बुटवल–बेलहिया व्यापारिक मार्गलाई उज्यालो बनाउने उद्देश्यअनुरूप सोलार बत्ती जडान सुरु गरिएको छ ।
रातिको समयमा समेत सडकलाई उज्यालो र आकर्षक बनाउन व्यापारिक मार्ग परियोजनाले सोलार राख्न लागेको हो । बुटवलदेखि बेलहियासम्मको निर्माणाधीन २७ किलोमिटर यो सडक नेपालमा निर्माण भइरहेका ठूला आयोजना मध्येको एक हो । निर्माण सकिएको क्षेत्रमा अहिले सोलार जडान गरी उज्यालो बनाउन थालिएको छ । व्यापारिक मार्ग परियोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले सडक निर्माण पूरा भएको बुटवल राजमार्ग चौराहदेखि ड्राइभरटोल र बेलहियादेखि भैरहवा देवकोटा चोकसम्म पहिलो चरणमा १ सय ५० वटा सोलार प्यानल जडान गर्न लागिएको जानकारी दिए ।
बुटवलतर्फ १ सय १० र भैरहवातर्फ ४० वटा गरी एकसय ५० वटा सोलार प्यानल जडानको लागि महेश निर्माण सेवा नवलपरासीसँग २ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु गरिएको भण्डारीले बताए । उनका अनुसार निर्माण सेवा कम्पनीले सोलार लाइटसँगै सोही रकममा रातको समयमा चम्किने ७६ वटा ट्राफिक साईनबोर्ड र योगिकुटी चोकमा दुई वटा कल्भर्ट समेत निर्माण गर्नेगरी सम्झौता भएको हो ।
प्रतिसोलार १ लाख ३० हजार लागत पर्न गएको छ । १२ घण्टा बत्ती बल्ने क्षमताको उक्त सोलार प्यानलमा १२ भोल्टको व्याट्री, दुईतर्फ ३०–३० वाटको सोलार लिड लाईट जडान हुने छन् । प्रत्येक ३० मिटरको दूरीमा एक–एक सोलार जडान भइरहेकोे भण्डारीले बताए । बुटवल–बेलहिया २७ किलोमिटर दूरीमा सात सय वटा सोलार बत्ती जडान हुनेछन् । सोलार जडानसँगै अब ड्राइभरटोलदेखि राजमार्ग चौराहसम्मको सडक झलमल्ल हुने छ । कालिकाचोक, चौराहा, योगिकुटी आदि स्थानमा रातको समयमा टल्किने बोर्ड राख्दा सडकको दायाँबायाँ सर्भिस लेनका लागि छुट्टयाइएको ६ मिटर र सवारी चालक दुवैमा फाइदा हुने विश्वास लिइएको छ ।





0 comments
Write Down Your Responses